गृहसचिव अर्यालबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण
SamacharDesk – बिराज | २०८० चैत्र ५, सोमबार

गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
सो अवसरमा अर्यालले प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको पनि निरीक्षण गरेका थिए ।
कार्यक्रममा गृहसचिव अर्यालले वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।
गृहसचिव अर्यालले वर्तमान समयमा समग्र गृह प्रशासनलाई समसामयिक हिसाबमा रूपान्तरण गर्नुपने आवश्यकता औंल्याए ।
‘अहिलेको कार्यसम्पादनबाट न हामी आफै न जनता सन्तुष्ट भएको अवस्था छ । हाम्रा कार्यशैलीमा परिवर्तन गर्दै अबका दिनमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने मन र मस्तिष्कमा राख्नुहोला’ गृहसचिव अर्यालले भने ।
प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकास सांगठनिक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै अर्यालले प्रहरी कर्मचारीहरूको पीरमर्का, गुनासोको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए ।
निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन” पुस्तकको पनि विमोचन गरेका थिए ।
Categorized in समाज