arin enterprises

मेटलाइफ र कर्मयोगको साझेदारीमा विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ श्रावण ८, मंगलबार

विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ ।

करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा प्लेस्केप निर्माण गर्न उक्त साझेदारी भएको हो ।

डिजाइन गरिएको प्लेस्केपले सिकाइसँग खेल मिलाउँदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक वातावरण हुने वाचा गर्दछ ।

यसले सबै बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिंग स्ट्रकचर, संवेदी खेल क्षेत्रहरू र शैक्षिक खेलहरू जस्ता विभिन्न अन्तरक्रियात्मक तत्वहरू समावेश गर्दछ ।

यो पहल मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा भएको जनाइएको छ र यसले नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गर्ने पनि मेटलाइफले बताएको छ ।

यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको लागि काम गर्ने कर्मयोग फाउन्डेशनलाई सात लाख रुपैयाँको सहयोग उपलब्ध गराएको छ ।

MetLife Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा स्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालनमा छ ।

नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

कर्मयोग फाउन्डेशन ग्रामीण नेपालका विपन्न समुदायको उत्थानको लागि काम गर्दै आएको संस्था हो । यो संस्था शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, र प्लेस्केप विकास, आय सृजन र सीप विकास मार्फत आत्मनिर्भरता बढाउनमा केन्द्रित छ ।

Categorized in समाज