arin enterprises

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु हुँदै

SamacharDesk – बिराज | २०८१ जेठ १८, शुक्रबार

पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन नजिकिदैं गर्दा सम्मेलनको तयारी तीव्र बनाइएको छ भने विदेशी पत्रकारहरु पनि धमाधम काठमाडौं पुग्दैछन् ।

आउँदो जेठ १९ र २० गते हुन गइरहेको दुई दिने सम्मलेनमा भाग लिनका लागि विभिन्न देशबाट पत्रकारहरु आउने क्रम जारी छ ।

हालसम्ममा बङ्गलादेश, भारत, भुटानबाट पत्रकारहरु मातृभाषा पत्रकारिता सम्मेलनमा भाग लिन काठमाडौं आइसकेका छन् ।

नेपालमा मातृभाषाबाट पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गर्न लागेको हो ।

आउँदो जेठ १९ गते शनिबार र जेठ २० गते आइतबार गरी दुई दिन सम्मेलनको आयोजना गर्न लागेको हो ।

जेठ १९ गते शनिबारका दिन ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्मेलनको उद्घाटन समारोह हुँदैछ । पुर्व राष्ट्रपछि विद्यादेवी भण्डारीबाट सम्मेलनको समुद्घाटन हुन गइरहेको दबूले जनाएको छ ।

‘नेपालमा मातृभाषा पत्रकारिता क्षेत्रमा विद्यमान समस्या, चुनौती, अवसरसम्मको पहिचान गर्ने र यसको सर्वाङ्गिण विकासमा लाग्नको लागि यो सम्मेलनको आयोजना हुँदैछ’ पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले भने ।

सम्मेलनको उद्घाटनपछि ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मातृभाषा पत्रकारिता’ विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन जेठ २० गते आइतबार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेमा दक्षिण एसियाली देशमा मातृभाषा पत्रकारिताको प्रवृत्ति र आगामी दिशामा प्यानल छलफल हुनेछ ।

‘नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमै मातृभाषा पत्रकारिताको अभ्यासको बारे जानकारी लिने, विदेशी पत्रकारहरुसँगको विचार मन्थनबाट मातृभाषा पत्रकारिताको नयाँ कार्यदिशा तय गर्ने लक्ष्य हाम्रो रहेको छ’ कार्यक्रम संयोजक र पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले भने ।

सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाले सार्क राष्ट्रका पत्रकारसँगै अन्य देशका मातृभाषा पत्रकारहरुले जुममार्फत सहभागीता रहने बताएका छन् ।

सार्क मुलुक भारत, बंगलादेश, भुटानको साथै पाकिस्तान, श्रीलंका लगायतका देशहरुबाट १५० जना मातृभाषी पत्रकारहरुको सम्मेलनमा सहभागीता रहने दबूको दावी छ ।

जेठ २० गते आइतबार मध्यपुर थिमिमा एक समारोहको आयोजना गरी सम्मेलन समापन गरिनेछ । समापन समारोहमा उप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिती रहने दबूले बताएको छ ।

सम्मेलनमा सार्क जर्नालिष्ट फोरम र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्य रहेको छ ।

आजभन्दा सय वर्ष अघि ने.सं. १०४४ मा धर्मादित्य धर्माचार्यले नेपालभाषाको पत्रिका ‘बुद्धधर्म व नेपालभाषा’ प्रकाशन गरेका थिए । नेपालभाषाको यहि पत्रिका नेपालको पहिलो मातृभाषी पत्रिका हो ।

‘बुद्धधर्म व नेपालभाषा’ पत्रिकाको प्रकाशनसँगै शुरु भएको मातृभाषा पत्रकारिताको यात्रा सय वर्ष पुगेको अवसरमा दबूले सम्मेलनको आयोजना गर्न लागेको हो ।

मातृभाषा पत्रकारिताको सय वर्ष पुगेकै अवसरमा दबूले एक वर्षसम्म विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ ।

Categorized in समाज