arin enterprises

सबै युवाहरु विदेशीए देशले के पाउँछ त ?

SamacharDesk – बिराज | २०७९ बैशाख ११, आइतबार

बागलुङका अमिर सुनारले हालै न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका छन् । बाल्यकालदेखि नै सुनका गरगहना बनाएको हेर्दै नै हुर्केका अमीरले सानैमा बुबा टीकाराम सुनारसँग काम थालिसकेका थिए ।

उनले करीब १० वर्ष अगाडी चितवनमा बागलुङ ज्वेलर्सको शुरुवात गरेर व्यवसायमा पाइला चालेका थिए । तर अपेक्षाकृत ढङ्गले व्यवसाय अगाडी नबढेपछि निराश भएर उनी कतार पुगेका थिए ।

कतारमा १६ महिना सुरक्षा गार्डको काम गरेर नेपाल फर्केर बागलुङ ज्वेलर्सलाई पनि नयाँ ढङ्गले अगाडी बढाए भने फोर नाइन बागलुङ ज्वेलर्स नामले दोश्रो पसलको पनि शुरुवात गरे ।

अब उनले फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट न्यूरोडमा पसल खोलेर काठमाडौंमा पनि आफ्नो व्यवसाय विस्तार गरेका छन् । यसै सन्दर्भमा उनै अमीर सुनारको समाचारडेस्कसँग भएको कुराकानी यहाँ प्रस्तुत छ ।

  • (फोर) नाइन बागलुङ ज्वेलर्सको सुरुवात गर्नुभएको छ । सर्वप्रथम आफ्नो पसलको नामको विषयमै बताइदिनुस् न, के हो फोर नाइन भनेको ?

यो सुनको गुणस्तरको कुरा हो । ४ (फोर) नाइन भनेपछि शुद्ध २४ क्यारेटको सुन भन्ने बुझिन्छ । हामीले आफ्नो सेवाको नारा नै ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भनेर राखेका छौं । गुणस्तरीय शुद्ध सुनका गहनाहरु वा वस्तुहरु हामी दिन्छौं र स्थान विषेशको कुरा गर्नुपर्दा म बागलुङबाट आएको हुँ, मेरो पुर्खाले बागलुङबाट सुनारको काम शुरु गरेको हो । त्यसैले मेरो पुर्खाको सुनको क्षेत्रमा योगदान सबैलाई बताउन र हाम्रो उत्पादन र सेवाको शुद्धताको पहिचान दिन फोर नाइन बागलुङ ज्वेलर्स भनेर नाम राखेको हो ।

  • यो क्षेत्रमा तपाईँ कहिलेदेखि लाग्नुभएको हो ?

मेरा बाबु बाजेहरु नै यस क्षेत्रमा थिए । त्यसैले बाल्यकालदेखि नै जानी नजानी यस क्षेत्रमा आवद्ध भएँ भन्नुपर्यो । व्यावसायिक रुपमै लागेको आजभन्दा १० वर्ष अगाडीबाट हो । म त्यो बेला १९ वर्षको थिएँ । १९ वर्षको उमेरमा मैले चितवनमा बागलुङ ज्वेलर्सकै नामबाट सुनका गहनाहरुको पसल शुरु गरेको थिएँ ।

  • बीचमा तपाईँ कतार पनि जानुभएको रहेछ, यहाँ काम शुरु गरेपछि कतार किन जानुभयो ?

हो, बीचको केही समय मैले कतारमा बसेर काम गरें । चितवनमा पसल शुरु गरेपछि आफुले सोचेको जस्तो काम हुन सकेन । त्यसपछि म केही निराश पनि भएको थिएँ । उमेरको हिसाबले पनि अलि अपरिपक्व नै भनुं । त्यसपछि म कतार गएको थिएँ । कतार गएर मैले त्यहाँ जि ४ एस सेक्युरिटी कम्पनीमा रहेर सुरक्षा गार्डको काम गरेको थिएँ । त्यहाँ मैले १६ महिना बिताएँ । त्यसपछि फेरी अहिले आफ्नै मातृभूमिमै फर्केर आएर यहिँ रगत पसिना बगाउने निधो गरेको छु ।

  • कतार पुगेपछि फेरी नेपालमै फर्किने, यहिँ श्रम गर्ने सोच कसरी आयो तपाईँमा ?

यहाँ शुरुमा सोचे जस्तो नभएपछि म कतार गएको थिएँ । कतारमा गएर मैले धेरै कुराहरु सिकें, अझ भनौं जिन्दगी जिउन सिकें । पराया भूमिमा श्रम गर्दा श्रमको सहि मूल्य, पसिनाको सहि मूल्यलाई बुझें भनौं । त्यहाँ बसेर सिकेको, आर्जन गरेको ज्ञानको सदुपयोग आफ्नै भूमिमा गर्नुपर्छ भन्ने लाग्यो । सबै युवाहरु विदेशीए, युवाहरुसँग भएको सीपको सदुपयोग पनि विदेशमै मात्र हुने हो भने, हाम्रो देशले के पाउँछ त ? मात्र रेमिट्यान्सको कुरा गरेर त भएन । देशको सीप विदेशीन दिने होइन अब विदेशमा सिकेको सीप देशमा आउनुपर्छ, त्यस किसीमको सीपले देशलाई फाइदा हुनुपर्छ भनेर सोचेर यतै आएको छु ।

  • नेपालमा फर्केपछि व्यवसायको सुरुवात गर्न समस्या भएन र ?

नेपाल फर्किने वित्तिकै शुरु गरिहाल्न केही गार्हो जस्तो त नभएको होइन । कहाँबाट शुरु गरौं, कसरी शुरु गरौं त भएको हो । तर समस्याकै किसिमले भएन । मैले कतार जानु अघि खोलेको पसल बागलुङ ज्वेलर्सलाई बुबाले निरन्तरता दिइरहनु भएकै थियो । मैले यहाँ फर्केर सुनचाँदीको गरगहना बनाउने कारखाना खोलें ।

कतारमा सिकेको कुरा, त्यहाँ कमाएको अनुभव यहाँ प्रयोग गरें । कारखाना राम्रै चल्दै गयो । मैले त्यो कारखानामा ५०–६० जनालाई रोजगार दिएँ । र पछि फेरी चितवनमै फोर नाइन बागलुङ ज्वेलर्स नामबाट अर्को पसल पनि शुरुवात गरें । अहिले यहि फोर नाइन बागलुङ ज्वेलर्सको सेवा काठमाडौंमा विस्तार गरेको छु ।

  • न्यूरोडमै धेरै सुनका गहनाका पसलहरु छन् । अझ न्यूरोडसँगै जोडिएका वरपरका क्षेत्रहरुमै सयौं पसलहरु छन् । ठुलै प्रतिस्पर्धा देखिन्छ, ग्राहक तपाईँकै पसलमा किन आउनुपर्छ भन्नुहुन्छ ?

यसरी प्रतिस्पर्धाको हिसाबले हेर्नुपर्ने अवस्था म देख्दिन । किनकि हामीलाई पसलमा ग्राहक आउला कि भनेर कुर्नु पर्दै पर्दैन । ग्राहक यहाँ पसलमा आउने होइन, हामी आफैं ग्राहकसम्म पुग्ने हो । हामी नै ग्राहकको घर, कोठासम्मै पुग्ने हो । ग्राहकलाई के कस्तो सेवा चाहिन्छ, हामी ग्राहकसम्मै पुगेर दिने हो । गुणस्तरीय उत्पादनको सेवा ग्राहकको लागि सहज बनाइदिने हो ।

  • चितवन पछि काठमाडौंमा तपाईँले न्यूरोड क्षेत्र रोज्नुभयो । त्यसमा पनि महर्जन कम्प्लेक्स नै रोज्नुको केही विशेष कारण छ अथवा यहाँ खाली ठाउँ पाएर मात्र हो ?

पहिला न्यूरोडको कुरा गर्दा नेपालको राजधानि काठमाडौं र काठमाडौंको राजधानी भनेको न्यूरोड हो । यहाँ दिनको लाखौं मानिसहरुको ओहोर दोहोर भइरहेको हुन्छ । काठमाडौंको मुख्य र ठुलो व्यापारिक केन्द्र नै न्यूरोड हो भन्दा फरक नपर्ला । अब महर्जन कम्प्लेक्सकै कुरा गर्ने हो भने यो कम्प्लेक्स न्यूरोडकै सबैभन्दा प्राइम लोकेसनमा परेको छ । काठमाडौं नेपालको राजधानी, न्यूरोड काठमाडौंको राजधानी भन्दा हुन्छ र न्यूरोडको राजधानी जस्तो भएको छ यो कम्प्लेक्स । यो कम्प्लेक्स त मैले ३ वर्षदेखि हेर्दैथिएँ । मैले त्यो ३ वर्षभित्रमा भवनको बारेमा अध्ययन गरें, यहाँ व्यापारको सम्भाव्यताको बारे अध्ययन गरें, बजारको सम्भाव्यताको अध्ययन गरें । त्यो सबै अध्ययन गरिकसेपछि मैले यहि भवनबाट काठमाडौंमा आफ्नो व्यवसायको सुरुवात गर्ने निर्णय गरें ।

Categorized in बिजनेस