arin enterprises

जनवरी ३० र हिटलर

SamacharDesk | २०८० माघ १६, मंगलबार

आज जनवरी ३० ।

आजको दिन विशेष भनौं वा उल्लेखनीय । यो दिनको चर्चा आज गर्नैपर्ला ।

९१ बर्षअघि आजकै दिन एडोल्फ हिटलर जर्मनीको चान्सलर नियुक्त भएका थिए ।

जर्मनीका राष्ट्रपति पल भोन हिन्डेनबर्गले आफ्ना छोरा, विभिन्न उद्योगीहरु, पूर्व चान्सलर फ्रान्ज भोन पापेन लगायतसँगको छलफलपछि सन् १९३३ मा आजकै दिन अर्थात जनवरी ३० मा हिटलरलाई चान्सलरको रुपमा स्वीकारेका थिए ।

राजनीतिमा सक्रिय भएको छोटो समयमै हिटलर जर्मनीको चान्सलर बन्न सफल भएका थिए ।

हिटलरको जन्म अस्ट्रियाको एक सामान्य परिवारमा भएको थियो । सन् १८८९ अप्रिल २० का दिन जन्मेका उनको बाल्यकालदेखि नै चित्रकार बन्ने चाहना थियो ।

चित्रकार बन्ने सपना देखेका हिटलर १८ बर्षको उमेरमा आफ्नो जन्मस्थान छोडेर अस्ट्रियाको राजधानी भियनामा आए ।

आफ्नो सपना साकार गर्न उनले ‘एकेडेमी अफ फाइन आर्टस्’ भियनामा दुई पटकसम्म प्रवेश परीक्षा दिए । तर त्यो परिक्षामा उनी असफल भए । आफु कसरी फेल भएको भन्ने कुराको स्पष्टीकरण लिन उनी एकेडेमी पुगे ।

त्यहाँ उनको पेन्टिङमा धेरै कमी कमजोरी भएको र खास गरेर मानव पक्षको कमी रहेको कुरा भनियो ।

त्यसपछि उनी सेनामा भर्ती भए । प्रथम विश्वयुद्ध चलिरहेको बेला जर्मन सेनामा आवद्ध हिटलर राजनीतितर्फ लाग्दै नाजी पार्टीमा आवद्ध भए ।

एक कुशल वक्ता भएका कारण उनले छोटो समयमै जनताको मन जित्दै गए ।

उनी केवल ४४ वर्षको उमेरमै जर्मनीको चान्सलर बन्न सफल भए ।

सन् १९३४ मा राष्ट्रपति हिन्डेनवर्गको मृत्यु भएसँगै देशको सर्वोच्च नेतासमेत बने । शक्ति हातमा आएसँगै उनी तानाशाही शासकका रुपमा स्थापित हुँदै गए ।

हिटलर आफ्नो शासनकालमा अन्य देशमाथि आक्रमण गर्ने र देशको भूभाग विस्तार गर्न क्रियाशील थिए ।

त्यस्तै हिटलरले ६० लाखभन्दा बढी यहुदीको ज्यान लिई यहुदीविरुद्ध जातीय नरसंहार मच्चाएका थिए ।

हिटलरलाई निकै बहादुर वा तानाशाह, क्रुर आदिको संज्ञा दिइएको छ । आजको दिनमा पनि तानाशाहको पर्यायवाचीको रुपमा हिटलर भन्ने चलन कायमै छ ।

यस्ता व्यक्तिको अन्त्य भने आत्महत्याबाट भयो । आत्महत्यालाई कायरताको पनि नाम दिइन्छ । परिस्थितीले हार खाएका कायर मानिसले मात्र आत्महत्या गर्छ भनेर समाजमा भन्ने गरिन्छ ।

इतिहासकै क्रुर व्यक्ति मानिएका हिटलरले १९३९ देखि सुरु भएको दोस्रो विश्वयुद्धमा पराजित भएपछि ५६ बर्षको उमेरमा सन् १९४५ को अप्रिल ३० का दिन आत्महत्या गरे ।

Categorized in अन्तर्राष्ट्रिय