arin enterprises

आज जुन ५, घरमै बसी विश्व पर्यावरण दिवस मनाऔं

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २३, शुक्रबार

आज जुन ५ तारिख, विश्व पर्यावरण दिवस । 

कोरोना महामारीका बीच पर्न आएको यो वर्षको विश्व पर्यावरण दिवसको नारा ‘टाइम फर नेचर’ रहेको छ ।

पछिल्ला केही बर्षहरुमा विश्वभरी धेरै नै प्रदुषणको साथै वातावरण विनाशका गतिविधिहरु बढे लगत्तै वातावरण संरक्षण गर्नका निमित्त यो दिवस मनाईँदै आएको छ ।

सन् १९७२ मा ‘ओन्ली वान अर्थ्’ नारा सहित अमेरिकाको स्पोकेनबाट यो दिवस मनाउन थालिएको देखिन्छ । 

हरेक वर्ष पालैपालो एउटा देशले मुख्य आयोजकको रुपमा यो दिवसको आयोजना गर्छ । यस वर्षको पर्यावरण दिवसको आयोजना गर्ने पालो कोलम्बियाको थियो । 

तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण औपचारिक कार्यक्रम भने हुन सकेन । साथै अन्यत्र पनि विगतका वर्षमा जस्तै पर्यावरण दिवसका कार्यक्रमहरु हुन सकेन ।

हालसम्म सबैभन्दा धेरै पटक पर्यावरण दिवसको कार्यक्रम आयोजना गर्ने देश बंगलादेश रहेको छ । बंगलादेशले ११ पटक यो दिवसको कार्यक्रम आयोजना गरिसकेको छ ।

वातावरणीय प्रदुषण गत २० वर्ष यता निकै तीव्र गतिमा बढिरहेको थियो । भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदुषित सहर भइसकेको थियो । 

प्रदुषणको सवालमा काठमाडौं पनि कहाँ कम थियो र । 

नदी, नालामा पानी हो कि धल थाहै हुन्नथ्यो, पुरै कालै हुन्थ्यो । खाली चौरहरु विश्राम वा व्यायाम स्थलभन्दा पनि फोहोर थुपार्ने ठाउँ बन्दै गएको थियो । जताततै गाडी मोटरसाइकलको आवाजबाट ध्वनि प्रदुषण उत्तिकै ।

वनजंगल फडानीको घट्नाहरु पनि दिनप्रतिदिन बढ्दो नै थियो । वातावरणीय प्रदुषणकै कारण विभिन्न देशहरुमा आएका विभिन्न समस्याहरु समाचारका हेडलाईन बने ।

यस्तै स्थिती परिस्थितीबीच अहिले कोरोना महामारी फैलिएको अवस्था छ । प्राय विश्वभर नै उद्योग, कलकारखाना, सवारी साधन, आदि सब ठप्प । संक्रमणबाट जोगिन सबैलाई घर बस्न वाध्य बनायो ।

यस्तोमा वातावरणीय प्रदुषणमा निकै कमी आएको छ, प्रदुषण निकै घटेको छ । 

तर विश्वका विभिन्न देशहरुले लकडाउन खुकुलो पारेसँगै फेरी गाडी, कलकारखानाहरु सुरु हुन थालेका छन् । यसले फेरी वातावरण प्रदुषण निम्त्याउने  निश्चित छ । 

वातावरणविद्हरुका अनुसार हरेक वर्ष २–३ हप्ता यस्तै लकडाउन गरे वातावरण जुन गतिमा विनाश हुँदैछ त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।

वायु प्रदुषण नियन्त्रणका लागि पेट्रोल, डिजेल, मट्टितेल जस्ता इन्धनहरुको प्रयोग कम गर्नुपर्छ । विद्युतीय उर्जा तर अरु नवीकरणीय उर्जाका श्रोतहरु प्रयोगमा ल्याउनुपर्छ । 

घर, कलकारखानाबाट आएका फोहोर, ढललाई फिल्टर गरी सफा भईसकेको पानी मात्र नदिनालामा मिसाउनुपर्छ । फिल्टर गर्दा निस्किएका फोहरहरुलाई सोलिड वेस्ट म्यानेजमेन्ट प्रकृयाबाट छान्न सकिन्छ ।

आज लकडाउनका कारण सडकमा सवारी साधन त्यत्ति गुडेका छैनन् । तर जब यहाँ लकडाउन खुल्छ, फेरी विगतमा जस्तै सवारी साधनको चाप बढ्नेछ जसले वायू र ध्वनि प्रदुषणलाई बढाउनेछ ।

सुविधा वा हतारको नाममा हरेक दिन सवारी साधनकै भर नपरौं । कम से कम हप्तामा एक दिन सबैले आ आफ्नो निजी सवारी साधनलाई विश्राम दिउँ । पैदल यात्रा, साइकलको प्रयोगले शारिरीक व्यायाम पनि हुनेछ भने वातावरणीय प्रदुषण कम गर्न पनि मद्दत हुनेछ ।

घरको कोठा सजाउनका लागि आकर्षक फर्निचर बनाउन वातावरणीय सन्तुलन विगार्दै वन फँडानी गर्यौ । कागजका लागि पनि धेरै रुखहरु काटिए । अब रुख काट्ने होइन, रोप्ने काम गरौं, वनजङ्गलको संरक्षण गरौं । प्रविधिको सदुपयोग गर्दै कागजको प्रयोग कम गर्न थालौं ।

यस्ता पक्षहरुमा ध्यान दिएमा नयाँ पुस्ता तापक्रम वृद्धि र जलवायू परिवर्तन जस्ता अवस्थाको सिकार हुनुपर्ने छैन ।

आजको महामारीले विश्वलाई धेरै दुःख दिएपनि राम्रा बानी पनि सिकाइदिएको छ । साबुन पानीले हात धुने, जथाभावी फोहर नफ्याँकी उचित व्यवस्थापन गर्ने देखि लिएर अनावश्यक सवारी साधन प्रयोग नगर्ने बानी हाम्रो बनेको छ ।

कोरोना महामारीको बेला घरमै बसी लकडाउनका नियमहरु पालना गरी विश्व पर्यावरण दिवस मनाऔँ ।

Categorized in विज्ञान-प्रविधी