आइपुग्यो काष्ठमण्डपको गजुर
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण १५, शुक्रबार

७२ सालको महाभुकम्पमा पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त भइ पुनर्निर्माणकाे क्रममा रहेकाे काष्ठमण्डपले अब चाँडै नै गजुर पाउने भएको छ ।
काष्ठमण्डप पुनर्निर्माणका क्रममा धुरीमा राखिने गजुर विहीवार लसुकस गरी काष्ठमण्डप भित्र्याइएको छ ।
एक धार्मिक कार्यक्रमबिच लसकुस गरी काष्ठमण्डपमा भित्र्याउने कार्य सम्पन्न भएको हो । बाजागाज र गर्जुको पल्टनसहित नेपाली सेनाका जवानहरूले बोकेर गजुर काष्ठमण्डप भित्र ल्याएका थिए ।
त्यसअघि काष्ठमण्डप सँगैको श्रीखण्डतरुमुल महाविहार (सिँख्वःमू बहाः) भित्र ३ दिनसम्म गजुरको गुप्त तान्त्रिक पूजा सम्पन्न गरिएको थियो ।
काष्ठमण्डप भित्र बिसाइसके पछि सिँख्वःमूबहाःका पण्डित प्रा. यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुहरूले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गर्नुभएको थियो । त्यसपछि १ दिनको पूजा कर्म भने गर्न बाँकी छ ।
सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् । यसलाई तामाको पाताले लेपन गरेर धुरीमा स्थापना गरिनेछ ।
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद राजेश शाक्यका अनुसार साउन महिनाभित्रै गजुरलाई काष्ठमण्डपमाथि स्थापना गरिनेछ ।
‘गजुर ल्याउनु भनेको काम सकिने चरणमा पुगेको छ भन्ने संकेत हो, शाक्यले भन्नुभयो, यसलाई धुरीमा स्थापना गरेपछि काष्ठमण्डप पुनर्निर्माणको कार्य पनि सम्पन्न हुनेछ ।’
काष्ठमण्डपकै नामबाट काठमाडौं नाम पनि बस्न गएको हो । सातौं शताब्दीमा निर्माण गरिएको यो सम्पदा पुनर्निर्माणको लागि काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा पुनर्निर्माण समिति गठन गरी कार्य अघि बढाइएको थियो ।
समितिले ०७५ को वैशाखबाट पुनर्निर्माणको काम सुरु गरेको थियो ।
पुनर्निर्माणको काम शुरु गर्न महानगरपालिकाले ५० लाख रुपैयाँ दिएको थियो । त्यसपछिका २ किस्तामा ५/५ करोड रुपैयाँ प्रदान गरेको थियो भने गएको असारमा थप १ करोड रुपैयाँ दिएको थियो ।
अहिलेसम्ममा पुननिर्माणका लागि महानगरले ११ करोड ५० लाख रुपैयाँ दिइसकेको छ ।
गजुरलाई लसकुस कार्यक्रममा पुनर्निर्माण समितिका अध्यक्ष एवं सांसद राजेश शाक्य, प्रतिनिधि सभाका सांसद बीना श्रेष्ठ, बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सम्पदा समितिका संयोजक एवं १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनलगायत पुनर्निर्माण समितिका पदाधिकारीहरूको सहभागिता थियो ।
Categorized in संस्कृति