राजाको चित्र अंकित नोट अब बन्द हुने
SamacharDesk – विकाश | २०७७ जेठ ११, आइतबार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याउँदै राजाको चित्र अंकित नोट चलनचल्तीमा नल्याउन भनेको हो ।
नयाँ व्यवस्था अनुसार अब नोटमा बैंकहरुले स्टिच गर्न पाउने छैनन् । रबर, प्लाष्टिक रबर र पेपर बैण्डको प्रयोग गर्न भने पाइनेछ ।
४ वर्ष अघि नै ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउने गरी नयाँ ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकको निर्देशनपछि अब बैंकले नोटहरूलाई तीन भागमा वर्गीकरण गरी सो अनुसार तीनवटै रंगको क्लिप लगाएर छुट्याउनु पर्नेछ ।
एटिएम लगायतका मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटहरुलाई हरियो रङ्गको क्लिप लगाउनुपर्ने हुन्छ ।
त्यसैगरी, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य नोटमा भने सेतो क्लिप राखिनेछ ।
चलनचल्तीमा पठाउन अयोग्य नोटमा रातो क्लिपिङ गरिनेछ । रातो क्लिप भएका नोटलाई भने बजारमा पठाउन पाइने छैन ।
झुत्रो, मक्किएको, जलेको, किराले खाएको, भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेको, पूर्व राजाको तस्वीर भएको नोटलाई चलनचल्तीका लागि अयोग्य हुने जनाइएको छ ।
नोट राखिएको प्याकेटमा बैंकको नाम, बैंकका कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य राख्न पनि राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकमा खाता भएकाले राष्ट्र बैंकमा र राष्ट्र बैंकमा खाता नभएका वित्तीय संस्थाले आफ्नो खाता भएको बैंकमा त्यस्तो नोट बुझाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
बजारमा पठाउन योग्य नोटलाई अनिवार्य रुपमा संक्रमणरहित बनाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
साथै नोट राख्ने दराज, भल्ट, फर्निचर वा नोट ओसारपसार गर्ने सवारी साधन लगायतका सामग्री पनि सफा हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यी नोटहरू तत्कालै प्रतिबन्धित हुन लागेको भने होइन ।
सर्वसाधारणले बुझाएको बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनः बजारमा नपठाउने राष्ट्र बैंकको तयारी छ ।
Categorized in बिजनेस