arin enterprises

पृथ्वी जयन्ती : कीर्तिपुरवासीको लागि कालो दिन

SamacharDesk – राम डंगोल | २०८० पौष २७, शुक्रबार

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माताको रुपमा देशभर पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती मनाइरहेको छ ।

तर यता आजको दिन कीर्तिपुरवासीहरु भने कालो दिनको रुपमा लिने गरिन्छ । कीर्तिपुरवासीहरुका अनुसार पृथ्वीनारायण शाहले युद्ध गरेर होइन छलबाट कीर्तिपुर जितेको कथन छ ।

इतिहास शिरोमणि बाबूराम आचार्यको लेख अनुसार कीर्तिपूरवासीले दिएको ज्यान बक्स पश्चात पनि पृथ्वी नारायण शाहले युद्दले नभई छलबाट जित्ने सोचले राती कीर्तिपूरको देवढोका पुतवारलाई खोल्न लगाई चारैतीर आगलागी र आक्रमण गरि कीर्तिपुरवासीहरुलाई झुक्याएर जित हासिल गरेको कथन छ ।

त्यतिले मात्र नपुगी कीर्तिपूरका हरेक घरबाट कोट प्रांगण हालको उमामहेश्वर लगी बालबच्चा, महिला, बयोबृद्ध सबको नाक र ओठ काट्न लगाएका थिए । हाल पनि किपु बाहिरका नेवाःरुले न्हाय् मरु पिं भन्ने गरेको छ । यहाँका प्रधान जातका मानिसहरु सबको हत्या गरिएको थियो भने यहाँको राजभवन (लायकु) जलाई दिएका थिए ।

सो पश्चात शाहवंशका कोही पनि ११ राजा यस नगरमा प्रवेस नै नगरेको कथन छ । यो कालो इतिहासलाई लिएर आजसम्म पनि कीर्तिपूरवासी पृथ्वीनारायण शाह र शाह राजालाई घृणाको दृष्टिले हेर्ने गरेका छन् ।

पृथ्वी नारायण शाह लडेको सो ढुङ्गालाई थुकेर हिड्ने चलन यद्यपी अहिलेसम्म पनि रहिआएको छ भने युद्दमा कीर्तिपूरवासीको नरसंहार हुन दिने सो ग़द्दार पुतुवार परिवारलाई हरेक वर्ष सापारु (गाईजात्रा)को दिन धे धे पापा नाचमा ग़द्दारको अनुहार नबिर्सउन भन्ने हेतुले देखाऊने चलन रहिआएको छ ।

त्यस्तै काठमाडौं पनि पृथ्वीनारायण शाहले झुक्याएर विजय प्राप्त गरेको इतिहासमा अंकित रहेको छ । काठमाडौंमा पटक पटकका हार व्यहोरेपछि अन्तिममा काठमाडौंवासीहरु इन्द्रजात्राको अवसरमा जात्रा मनाई मग्न भइरहेको बेला काठमाडौंको चारैतिरबारट हमला गरेर झुक्याएर जित हासिल गरेको इतिहासमा अंकित छ ।

पृथ्वीनारायण शाहले काठमाडौंमा विजय प्राप्त गरेपछि जीवित देवी कुमारीको पाऊमा दाम चढाएर आर्शिवाद लिएपछि काठमाडौंवासीहरुले पृथ्वीनारायण शाहलाई राजाको रुपमा स्वीकारेको जनश्रुति रहेको छ ।

देशमा राजतत्र रहँदा  र अहिले पनि राजावादीहरुले राजालाई नेपालको एकीकरणको निर्माता, राष्ट्रनिर्माताको रुपमा जन्मदिन मनाउँदै आए पनि उहाँको आलोचना पनि उत्तिकै हुने गरेको छ ।

आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उहाँ राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । कीर्तिपुरवासीहरु पनि आजको दिन कालो दिनको रुपमा सम्झिने गर्दछ ।

कीर्तिपुरबाहेक नेपालभर भने पृथ्वीनारायण शाहको जन्मदिन भव्यरुपमा मनाउने गर्दछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभयो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभयो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गर्नुभएको हो ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउन सफल हुनुभयो ।

Categorized in विचार