काठमाडौं महानगर उपप्रमुख डंगोलले गरिन् बेलायतमा काठमाडौंको चर्चा
SamacharDesk – लन्डन संवाददाता | २०८१ जेठ २४, बिहिबार

विभिन्न स्थानीय संघसंस्था, समुदायसँग अन्तरक्रिया सम्वाद गर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलकाको बेलायत भ्रमण सम्पन्न भएको छ ।
काठमाडौं महानगर उपप्रमुख डंगोलले एक साताको बेलायत भ्रमणको क्रममा अलग अलग चार वटा कार्यक्रममा पनि भाग लिइन् भने विभिन्न कार्यक्रमहरुलाई सम्वोधन पनि गरिन् ।
यसै क्रममा उपप्रमुख डंगोलले गत मे २४ देखि २६ तारीखसम्म भएको तीन दिने ‘वुमन अफ् द वर्ल्ड’ (वाउ) अन्तराष्ट्रीय सम्मेलनमा पनि भाग लिइन् ।
ईंग्ल्याण्डको उत्तरपश्चिमस्थित म्यान्चेष्टर शहरमा सम्पन्न सम्मेलनमा विश्वभरीबाट विभिन्न क्षेत्रका प्रभावकारी महिला व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने क्रममा राजनीति क्षेत्रबाट उपप्रमुख डंगोललाई बोलाइएको थियो ।
सम्मेलनको क्रममा उपप्रमुख डंगोलले विभिन्न कार्यशालामा नेपालको प्रतिनिधित्व गर्दै महिला सशक्तिकरणमा जोड दिँदै आफ्नो अनुभव बाँडिन् ।
सोही सम्मेलनमा डंगोलले आउँदो सेप्टेम्बरमा काठमाडौं महानगरपालिकाले ‘वुमन अफ् द वर्ल्ड (वाउ)’ सम्मलेनको आयोजना गर्ने घोषणा समेत गरिन् ।
त्यस्तै २८ मे को दिनमा उपप्रमुख डंगोल लण्डनको साउथ केन्जिंगटनस्थित नेपाली राजदूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा पनि सामेल भइन् ।
अन्तरक्रिया कार्यक्रममा उपमेयर डंगोलले काठमाडौं महानगरपालिकाले संचालन गर्दै आएको विभिन्न आर्थिक, औद्योगिक, सांस्कृतिक र सामाजिक विकास परियोजनाको बारेमा प्रस्तुति दिइन् ।
भ्रमणको क्रममा उपप्रमुख डंगोलले म्यान्चेष्टर, एडिनबरा, अक्सफर्ड, केण्ट र लण्डनको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायसँग विभिन्न औपचारिक कार्यक्रम अन्तर्गत अन्तरक्रिया पनि गरेकी थिइन् ।
त्यसैगरी उपप्रमुख डंगोल ३० मे को दिन अक्सफर्ड विश्वविद्यालयमा आयोजित ‘दि जेन्ट्रिफिकेशन अफ् काठमाण्डु’ विषयक गोष्ठीमा पनि सहभागी भइन् ।
गोष्ठीमा मुख्य कार्यपत्र प्रस्तुत गर्दै उपप्रमुख डंगोलले ऐतिहासिक नगर काठमाडौंको शहरीकरणमा देखिएका चुनौतीहरुको बारे चर्चा गरिन् ।
साथै काठमाडौंको सांस्कृतिक र सामाजिक सम्पदाको संरक्षणको उद्देश्यसहित काठमाडौं महानगरपालिकाको नेतृत्वमा संचालन भइरहेका विभिन्न परियोजनाहरुको बारेमा पनि उनले प्रकाश पारिन् ।
अक्सफर्ड विश्वविद्यालयमा आवद्ध प्राज्ञहरुको सहभागतिा रेको उक्त गोष्ठीमा प्राध्यापक डेविड गेल्नर र प्राध्यापक दिवाकर आचार्यलगायतले समेत उपमेयर डंगोलसँग प्राज्ञिक अन्तरक्रिया गरेका थिए ।
साथमा, ३१ मे को दिनमा ‘इण्डिजिनाइजिंग दि हिमालयज्’ विषयक एक कार्यक्रममा पनि उनले सहभागीता जनाइन् ।
संयुक्त अधिराज्यको दुई शताब्दी पुरानो संस्था ‘रोयल जियोग्राफिकल सोसाइटी’, मानविकी र समाजशास्त्रको राष्ट्रीय प्रतिष्ठान ‘बृटिश एकेडमि’ र ब्रुनेल विश्वविद्यालयको निमन्त्रणामा डंगोल उक्त कार्यक्रममा पुगेकी थिइन् ।
कार्यक्रममा उनले ईन्द्रजात्राको बारे जानकारी प्रस्तुत गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको इन्द्रजात्रालाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय साथै अन्तराष्ट्रियकरण गर्न गरिरहेका पहलहरुको बारे बताइन् ।
नेपाल सम्वत अनुसार यँलामा हुने इन्द्रजात्रामा सहभागी हुन आउन डंगोल सबैलाई आग्रह पनि गरिन् ।
उपप्रमुख डंगोलको नेतृत्वमा बेलायत पुगेको भ्रमण टोलीमा काठमाडौं महानगरपालिकाका तीन महिला कर्मचारीहरु श्रृष्टी तुलाधर, श्रृजु प्रधान तुलाधर र कमारी राई सम्मिलित थिए ।
