arin enterprises

सुकुम्बासी बन्ने कसैको रहर हुँदैन, त्यो बस्ती कसैको सपना हुँदैन !!!

SamacharDesk – श्यामकृष्ण प्रजापति | २०७९ चैत्र २०, सोमबार

राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको करीब एक वर्ष वितिसकेको छ । यस अवधिमा वास्तविक सुकुम्वासीहरुलाई भूमिहीन अवस्थाबाट उकास्नको लागि सक्दो प्रयास गर्दै आएको छु, अझै पनि यसै प्रयासमा भरमगदुर लागेकै छु । यिनै प्रयास र सक्रियताका बीचमा अवस्थामा केही सुधारहरु पनि भएका छन् भने केी घटनाहरु घटिसके यीनै अवस्था र घटनाहरुसँगै धेरैबाट धेरै किसिमका प्रतिक्रियाहरु सुनियो । यी प्रतिक्रियाहरुसँगै मनमा धेरै छालहरु उठे । यिनै छालहरुलाई आज अक्षरस सबै माझ बाँड्न कोशिश गर्दैछु ।

भूमि आयोग काठमाडौं जिल्ला समितिको अध्यक्ष बन्नु अघिको विगतको लामो समयदेखि अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएको हो । समावेशी, समानताको अधिकारको सवालमा, संस्कृति, सम्पदाको संरक्षणको लागि साथै भूमिको अधिकारको सवालमा आवाज उठाउँदै आएको हो । तर विगतमा मैले जुन ढङ्गले सुकुम्वासीलाई हेर्ने गर्थें, आज त्यो दृष्टिकोण भनौं वा विचारधारा विलकुलै फेरीएको छ । विगतमा लाग्थ्यो, विशेष कारणवश आफ्नो गाउँठाउँमा भूमिहीन हुन गई, काठमाडौंमा आई सार्वजनिक जग्गा ओगटेर बसेकालाई सुकुम्वासी भनिन्छ । तर विभिन्न परिस्थितीले स्थानीय वासिन्दालाई आफ्नै थातथलोमा पनि सुकुम्वासी बनाईदिँदो रहेछ ।

वस्तुस्थिती, परिस्थितीले भोलि हामीमध्ये कसैलाई सुकुम्वासी नबनाउला भन्न नसकिने रहेछ । राष्ट्रिय भुमी आयोग काठमाडौ जिल्ला अध्यक्षको जिम्मेवारी निभाउँदै गर्दा मैले धेरै प्रकारका सुकुम्बासीलाई देखें । अथवा भनौं धेरै प्रकारका परिस्थीतीहरुले देखें, जसले एक जना मान्छे वा परिवारलाई सुकुम्वासी बनाईँदिँदो रहेछ ।

१. कोठा नपाएर वा भाडा तिर्न नसकेर सुकुम्बासी बनेकाहरुः

हामीले मान्नैपर्छ, विकास अहिलेसम्म पनि काठमाडौं केन्द्रीत नै बनिरहेको छ । शक्ति र सुविधा जति सबै काठमाडौंमै सिमित बनेको छ । यस्तो परिस्थितीमा अवसर, उपचार आदि विभिन्न आवश्यकताका कारण गाउँबाट शहर बसाईँ सर्ने क्रम निरन्तर चलि नै रहेको छ । यसरी गाउँबाट शहर आउँदा काठमाडौंमा झट्ट काम पनि नपाउनु र कोठामा भाडामा नपाएर वा यहाँको कोठमा भाडा तिर्न नसकेर सुकुम्वासी बन्न पुगेको धेरै व्यक्ति र परिवारलाई मैले देखें ।

२. स्वास्थ्य उपचार गर्दागर्दै सर्वस्व गुमाएका सुकुम्बासीहरुः

स्वास्थ्य समस्या न निम्ता दिएर आउँछ, न त खबर गरेरै आउँछ । कसलाई कुन बेला के पर्छ भन्न सकिन्न । गरीबहरुलाई त ठुलठुला स्वास्थ्य समस्या हुँदा धनीमानी भनाउँदाहरु पनि सडकमा आएको समस्या हामीले नदेखेको होइन । स्वास्थ्य समस्या भएपछि उपचारमै सर्वस्व गुमाएर सुकुम्वासी बनेका कैयन घरपरिवार पनि मैले यो बेलामा देखें ।

३. घर परिवारमा कलह वा अन्य समस्याका कारण सुकुम्बासी बनेकाहरुः

आमाको काख गुमाउनुपर्दा पाइने दुःख आमा गुमाएका सन्तानलाई मात्र थाहा होला । फेरी आमा गुमाएकै कारण कोही सुकुम्वासी समेत बन्न सक्छ भन्नुपर्दा कतिलाई विश्वास नलाग्न पनि सक्छ । आमा गुमाएपछि बुबाले सौतेनी आमालाई ल्याईदिँदा सन्तानलाई आमाको माया पाइएला भन्ने आश त होला, तर कतिपय सौतेनी आमाले सौताको सन्तानलाई शत्रुकै दृष्टिले हेरिदिँदा त्यो आमाविहीन सन्तान झनै दुःखमा पर्ने त भयो नै, साथमा सौतेनी आमाको प्रताडना सहन नसकेर घर छोडेर जाने स्थितीसम्म पनि पुग्न सक्दो रहेछ । यस्तो स्थितीमा त्यो व्यक्ति सौतेनी आमाको प्रताडनाका कारण सुकुम्वासी जीवन जिउन बाध्य हुँदो रहेछ ।

त्यस्तै छोराबुहारीको दुव्र्यवहारका कारण आमाबाबु सुकुम्वासी बन्नपुरेको समस्या पनि उत्तिकै छ । नेपाली समाजमा एउटा उखान छ, ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि ।’ आमाबुबाको लागि सबैभन्दा प्यारो भनेकै सन्तान हुन्छ । तर कतिपय सन्तान भने आफु हुर्किसकेपछि बुढाबुढी भइसकेका आमाबुबालाई बोझ सम्झिने गर्छन् । अझ विहे पछि घरमा भित्रिने बुहारीले आफ्ना श्रीमानको आमाबुबालाई आफ्नो आमाबुबा सरह नै नसोचिदिँदा घरमा कलह झन बढ्ने गर्दछ । फलस्वरुप छोराबुहारीको हेलाको सिकार हुन पुगेका आमाबुबा घर छोडेर गइ सुकुम्वासी बन्दो रहेछ ।

४. बिकासको नाममा सडक बिस्तारबाट सुकुम्बासी बनेकाहरुः

विकासको नाममा भएका राजधानी केन्द्रीत विभिन्न निर्माण कार्यहरु राजधानीवासीहरुले लाभ भन्दा बढि दुःख पाएका छन् । सत्तामा पुगेका धेरैले काठमाडौंको विकास भनेकै डोजरलाई मात्र देखेका छन् । विभिन्न समयमा यहाँ सडक विस्तारका नाममा धेरै ठाउँमा डोजर चले र घरहरु भत्काइए । यसरी विकासको नाममा जथाभावी घर भत्काएर सडक त फराकिलो बन्यो तर, घर भत्किँदा कैयन घर परिवार सडकमा आइपुगे र सुकुम्वासी बने ।

५. साथिभाईको लहैलहैमा घर छोडी सुकुम्बासी बनेकाहरुः

लहलहै एउटा डरलाग्दो रोग हो भन्दा अत्युक्ति नहोला कि ? युवावस्थामा साथीभाईहरुसँग हिँडिन्छ । साथीभाईहरुले जे जे गरे, त्यहि त्यहि आफुलाई पनि गर्न मनलाग्ला । रगत तातो रहेको युवावस्थाको अपरिपक्वताले के सहि के गलत भन्न पनि नसकिने अवस्था रहन्छ । यस्तोमा साथीभाईको लहलहैमा लागेर घर छोडेर हिँडेका धेरै मानिसहरु छन्, जो अहिले सुकुम्वासी बनेका छन् ।

६. आफूले जोतपोत गर्दै आएको घरजग्गाको कागजात बनाउन नसकी सुकुम्बासी बनेकाहरुः

बस्नलाई घर छ तर कागज छैन । कागज बनाउनको लागि पनि प्रकृयामा जानुपर्यो । त्यसको लागि पनि खर्च नै चाहियो । फेरी कागज बनाउन जाउँ, आज काम गर्न पाइन्न अनि घरमा आज चुल्हो कसरी बल्छ ? यस्तै अवस्था धेरैको छ यहाँ । आर्थिक अवस्थाकै कारण आफुले जोतपोत गर्दै आएको घरजग्गाको कागजात बनाउन नसकेर आज सुकुम्वासी जीवन जिउन बाध्य घरपरिवारको संख्या पनि कम छैन यहाँ ।

७. छुवाछुतको कारण गाउँबाट लखेटिएका र भागेर सुकुम्बासी बनेकाहरुः

भन्नलाई समाज आधुनिक बनिसकेको छ । देश धर्म निरपेक्ष बनिसकेको छ । तर आँखामा धार्मिक पट्टी बाँधेर जातीय भेदभाव छुवाछुत गर्ने प्रवृत्ती समाजमा अझै बाँकि छ । धर्मको नाममा, संस्कृतिको नामा गरिने यस्ता विभेदका कारण आजको दिनमा पनि गाउँघरतिर मानिसलाई पशुको व्यवहार गर्ने गरिन्छ । यस्तो छुवाछुतको कारण, विभेदका कारण गाउँबाट लखेटिएर अथवा भागेर शहर पस्ने परिवारहरु आजको दिनमा सुकुम्वासी बनेका छन् ।

८. माओवादी जनयुद्धको क्रममा सहर भागेकाहरुः

माओवादी जनयुद्धको क्रममा ज्यान जोगाउनकै लागि आफ्नो सर्वस्व जायजेथा छोडी भागेर सहर पसेकाहरुको संख्या पनि धेरै छ । तत्कालीन समयमा एक त आफ्नो ज्यानकै सवाल भयो फेरी गाउँमा भएका एक टुक्रा जग्गा पनि माओवादीले जग्गा कब्जा गरेछ । माओवादी भूमिगत अवस्थाबाट सक्रिय राजनीतिमा आयो, सशस्त्र युद्धबाट सत्तामा आयो । तर त्यो बेला कब्जा गरिएका ती जग्गा जग्गाधनीले फिर्ता पाएनन् र आज त्यो बेलाको जग्गा धनी सुकुम्बासी बनेर बस्नुपरेको छ ।

९. रोजगारी वा यससँग सम्वन्धित कारणबाट सुकुम्वासी बनेकाहरुः

४०, ५० बर्ष पहिले काठमाडौंमा खेती गर्नका लागी प्रशस्त खेतहरु थिए । जग्गा धनी वा यहाँ भएका किसानहरुको संख्याले खेत्न जोत्न पुग्दैनथियो । त्यस्तोमा खेताला र खेतको रेखदेखको लागि गाउँबाट सानो उमेरमै धेरै मानिसहरु यहाँ ल्याइए । त्यस्तै ठेक्कापट्टा गर्ने ठेकेदारसंग ज्याला मजदुरी गर्न सानै उमेरमा काठमाडौं पसेकाहरुको पनि यहाँ कमी छैन । साथै सानो उमेरमै खलासी बनेर काठमाडौं छिरेकाहरु पनि उत्तिकै छन् । त्यस्ता व्यक्तिहरु यता पुगेपछि काम पनि गरे तर सोचे जस्तो पैसा कमाउन पनि सकेनन् आजका दिनमा यहाँ सुकुम्बासीहरु बने ।

यो त नेपालभित्रैको कुरा भयो । कैयन व्यक्तिहरु वैदेशिक रोजगारको नाममा ठगीमा परेर सुकुम्वासी बनेका पनि छन् । आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाई कतार, दुबई वा ठुलठुला युरोपियन देशको समेत नाम लिएर उनीहरुलाई फकाइयो । भविष्य त राम्रो होला भन्ने आशा लिएर यहाँ भएका घरखेत सबै बेचेर हिँडेका उनीहरुलाई भनिएको भन्दा भारत साथै अन्य स्थान र काममा लगाइयो । त्यस्ता व्यक्तिहरु आफ्नो देश फर्किँदा उनीहरुसँग न पैसा थियो न त यहाँ भएको सम्पत्ति नै बाँकि थियो । अझ कति मानिसहरु त रोग समेत बोकेर यहाँ फर्किनुपर्ने अवस्था भयो । त्यस्ता व्यक्तिहरु पनि यहाँ सुकुम्वासी बनेर बस्न बाध्य भए ।

१०. प्राकृतिक प्रकोपका कारण सुकुम्वासी बनेकाहरुः

प्राकृतिक विपत्तीका कारण कैयनले वर्षेनी ज्यान समेत गुमाउनु परिरहेको खबर हामीले सुन्दै आएका छौं । विशेष गरी गाउँघरतिर बाढी–पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपमा परेर आफ्नो सर्वस्व गुमाएकाहरु हातमुख जोड्नको लागी कामको खोजीमा सहर पस्नुको विकल्प रहन्न । त्यस्ता व्यक्तिहरु कोठाभाडा तिर्न त के, एक छाक खानको लागि आर्थिक समस्यामा रहेका हुन्छन् । अनि सुकुम्वासी बनेर बस्नु उनीहरुको बाध्यता हुन्छ ।

यस बाहेक अन्य सयौं कारणहरु मैले नदेखेको हुनसक्छ, जुन कारणले मानिसहरु सुकुम्बासी बन्न बाध्य बने । सुकुम्वासीको नाममा फाइदा लिनेहरु छैन भन्न सकिन्न । तर वास्तविक सुकुम्वासीहरु जुन पीडामा छन्, त्यसको कल्पना पनि हामीले गर्न सक्दैनौं ।

सुकुम्वासी बन्ने कसैको रहर हुँदैन । आफ्नो घर, सुखी परिवार सबैको सपना हुन्छ । यदि राज्यले जनताले तिरेको कर नै जनतालाई फर्काएर भूमिहीनलाई भूमिपति बनाउँछ भने त्यो जस्तो राम्रो के होला र । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लगत संकलन, छानबिन अनि पहिचान पश्चात संबिधान प्रदत्त अधिकारलाई संबोधन गर्दै उचित ब्यबस्थापनको निम्ति सरोकारवाला सबैलाई अनुरोध गर्दछु । पीडामाथि पीडा थप्दै डोजर चलाउनुभन्दा समस्या समाधानतिर लागौं ।

सुकुम्बासी बन्ने कसैको रहर हुँदैन, त्यो बस्ती कसैको सपना हुँदैन !!!

*यस लेखका लेखक श्यामकृष्ण प्रजापति राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष हुनुहुन्छ ।

Categorized in बिचार