पहिरोले पुरिंँदा ७ को मृत्यु
SamacharDesk | २०८१ आषाढ १६, शनिबार

गुल्मी र बाग्लुङमा लगातारको वर्षापछि गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ ।
गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मृत्यु हुनेहरुमा ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना रहेका छन् ।
उता बाग्लुङमा घर पुरिँंदा दुईको मृत्यु तथा दुई जना घाइते भएका छन् । गल्कोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
Categorized in समाज