लेनोभोले ल्यायो पारदर्शी डिस्प्ले भएको ल्यापटप
SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

कम्प्युटर तथा इलेक्ट्रोनिक्स ब्रान्ड लेनोभो कम्पनीले ट्रान्सपरेन्ट डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा थिंकबुक ट्रान्सपरेन्ट डिस्प्ले ल्यापटप सार्वजनिक गरेको हो ।
पारदर्शी डिस्प्ले भएको यो ल्यापटपको पछिल्तिर के छ भन्ने कुरा प्रस्टसँगै देख्न सकिन्छ । १७.३ इन्चको उक्त ल्यापटमा माइक्रोएलईडी स्क्रिन राखिएको छ ।
यस ल्यापटपको किबोर्ड समेत भर्चुअल रहेको छ । अर्थात् ल्यापटपको किबोर्ड स्मार्टफोनमा हुने टच किबोर्ड जस्तै रहेको छ । जसलाई टाइप गर्ने समयमा किबोर्ड बनाउने र बाँकी समय भर्चुअल ड्रइङ बोर्डको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यसमा एक हजार निट्स सहितको ब्राइटनेस भएको कारण यो ल्यापटप कोठा भित्र/बाहिर जहाँ पनि प्रयोग गर्न सकिन्छ । तर ल्यापटपमा गोपनीयताको समस्या भने छ ।
यो ल्यापटप चलाउँदा पछाडि के भइरहेको छ भनेर देखिए जस्तै पछाडिबाट हेर्दा ल्यापटपमा पनि के भइरहेको थाहा हुने भएकोले गोपनीयताको नजरबाट यसलाई ठूलो समस्याको रुपमा हेरिएको छ ।
लेनोभाको यो पारदर्शी ल्यापटप बजारमा बिक्रीका लागि उपलब्ध भइसकेको भने छैन ।
यो ल्यापटप कहिलेवाट बजारमा उपलब्ध हुन्छ भन्ने बारे कम्पनीले केहि जानकारी दिएको भने छैन ।
Categorized in विज्ञान-प्रविधी