नेपालभाषा र अंग्रेजी भाषामा लन्डन लाखे सार्वजनिक
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ भाद्र १, शनिबार

हाल बेलायत बसोबास गर्दै आएका ओजेश सिंहबाट लिखित बाल साहित्यिक कृति ’लन्डन लाखे’ सार्वजनिक भएको छ ।
पासा पुचः बेलायतका पुर्व अध्यक्ष समेत रहेका सिंहबाट लिखित उक्त पुस्तकको शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच विमोचन गरियो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, साहित्यकार साथै अधिकारकर्मी मल्ल के. सुन्दर, साहित्यकार राजभाइ जकःमि, साहित्यकार स्नेह सायमिसाथै पुस्तक लेखक सिंहले सामूहिक रुपमा पुस्तक विमोचन गरेका थिए ।
पुस्तक नेपालभाषाको साथै अंग्रेजी भाषामा समेत लेखिएको छ ।
पुस्तक विमोचन पछि बोल्दै कामपा उपप्रमुख डङ्गोलले यस पुस्तकले नेवाः समुदायको इतिहास र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखिन् ।
विमोचित पुस्तकले नेवारहरु विदेशमा जाँदा आफ्नो परम्परालाई पनि सँगै लिएर जान्छन् भनेर देखाएको बताइन् ।
‘नेवारहरु जहाँ जहाँ जान्छन्, आफुसँग आफ्नो सिस्टम पनि बोकेर जान्छ, जुन सिस्टमलाई गुठी भनिन्छ । लन्डन गएको नेवार पनि आफु एक्लै जानुभएन, यहाँको सबैभन्दा ठुलो गुठी परम्परालाई पनि सँगै लग्नुभयो’ उपप्रमुख डंगोलले भनिन् ।
अधिकारकर्मी मल्लले पुस्तकले लाखेको बारेमा समाजमा व्याप्त भ्रम चिर्ने विश्वास व्यक्त गरे ।
‘यो प्राचीन नेपालमण्डलमा दुईवटा जीवन मूल्य, जीवन अवधारणा, दुईटा जीवनशैली छन् । त्यो दुईवटा भाल्यू सिस्टममध्ये लाखय् एउटा भ्याल्यू सिस्टमको सिम्बोल हो’ नेपालभाषा एकेडेमिका भाइस चान्सलर समेत रहेका साहित्यकार मल्लले भने ।
साहित्यकार जकःमि, स्नेह सायमिलगायतले नेवाः संस्कृतिलाई विदेशी भूमिमै निरन्तरता दिँदै यसको संरक्षण र प्रवर्द्धनमा जुटेका ओजेश सिंहको साथै विदेशमा बसिरहेका नेवाः समुदायको योगदान प्रशंसनीय रहेको विचार राखे ।
पुस्तक रातो घर फाउन्डेसनले बजारमा ल्याएको छ ।
Categorized in पेजथ्री