arin enterprises

धोबिघाटमा बालबालिकालाई लक्षित स्वास्थ्य शिविर हुँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ ८, शुक्रबार

बालबालिकालाई लक्षित गर्दै धोबिघाट ललितपुरमा स्वास्थ्य शिविर हुने भएको छ । लभ्ली होम, लभ्ली होम इनोभेटिभ स्कूल, लाइफ स्कूल र रोरा केम प्रा.लि.को संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर हुन लागेको हो ।

शिविरमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको स्वास्थ्य परिक्षण गरिँदैछ । शिविरमा बालबालिकाको नाक, कान, घाँटी, आँखा, दाँतको परिक्षण गरिने बताइएको छ ।

त्यस्तै बालबालिकाको उचाईँ, तौल र सो अनुसार खाना र पोषणको बारेमा पनि पोषणविद्बाट परिक्षण हुने लभ्ली हाेम स्कूलकी संस्थापक माहेश्वरी अमात्यले बताइन् ।

शिविरमा मौसमी रुघाखोकीको लागि इन्फ्लुएन्जाको भ्याक्सिन पनि दिइनेछ भने सोही शिविरमा रक्तदान कार्यक्रम समेत हुन लागेको छ ।

बालबालिकाको स्वास्थ्यमा कुनै पनि समस्या नआओस् र कुनै समस्या भएमा पनि समयमै उपचार गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो शिविर वर्षेनी आयोजना गर्दै आएको लभ्ली हाेम स्कूलकी संस्थापक अमात्यले बताइन् ।

‘साधारण किसिमका शिविर त वर्षेनी संचालन गर्दै आएका थियौं । पछिल्लो केही समय कोभिडको कारण रोकिनुपरेको थियो । यस वर्ष अलि भव्य किसिमकै शिविरको आयोजना गर्न लागेका हौं’ अमात्यले बताइन् ।

शिविरमा डा. शमा शाक्य, डा. विपिनमान कायस्थ, नानीशोभा शाक्यलगायतका चिकित्सकबाट स्वास्थ्य परिक्षण हुनेछ ।

साथमा बालबालिकाका लागि खोप विशेषज्ञ नर्स बीणा महर्जन र सुमेरु अप्टिकलको समूहबाट आँखा परिक्षण हुने आयोजकले जनाएको छ ।

Categorized in समाज