arin enterprises

तीनदिने मध्यपुर महोत्सव शुरु

SamacharDesk | २०८१ पौष १२, शुक्रबार

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने “मध्यपुर महोत्सव २०८१” आजदेखि सुरु भएको छ ।

मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने उद्देश्यका साथ आयोजना भएको महोत्सवलाई नगर तथा नगरवासीहरुको दीर्घकालिन आर्थिक समृद्धिमा योगदान पुर्याउनेमा केन्द्रित गरेको छ ।

महोत्सवको उद्घाटन गर्दै उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भएको छ ।

उहाँले अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । महोत्सवहरुले स्थानीय उत्पादनको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नगरपालिकाले स्थानीय कला, संस्कृति, मौलिक पेशा, खानपान, तथा उत्पादनलाई प्रवद्र्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यका रुपमा चिनाउने तथा ऐतिहासिक जात्रा तथा पर्वका बारे जानकारी दिएर पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।

महोत्सव शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, नीलबाराहीसम्मका ऐतिहासिक क्षेत्र ओगटेको छ ।

महोत्सवमा ३४७ स्टलहरु रहेका छन् । महोत्सवमा विभिन्न ऐतिहासिक नाचहरु देखाइनेछ । जसमा अष्टमातृका, इन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाली नाच आदिको प्रस्तुती रहेको छ ।

Categorized in बिजनेस