arin enterprises

कर नबुझाउने करदाताको कार्यस्थलमै माइकिङ

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण १३, बुधबार

महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ् सुरु गरेको छ ।

माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एन. आर. टी. क्लव र युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनियरिङ् कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।

यस अघि कर नबुझाउने करदाताहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास, अनुरोध गरेको तर, उहाँहरुले विवरणसम्म पनि नबुझाएको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए ।

पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये हालसम्ममा एन. आर. टी. क्लव, काठमाडौँ इञ्जिनियरिङ् कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएको प्रमुख अधिकारीले जानकारी दिए ।

‘बाँकीले सम्पर्क पनि गरेका छैनन् तर, हामीले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ’ अधिकारीको भनाई हो ।

महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल. आर. आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. र स्टार मल रहेको पनि विभागले जनाएको छ ।

यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिँदैछ ।

Categorized in बिजनेस