arin enterprises

इनाय् टोलमा “मिनि पाहाँचह्रे” पर्व मनाइयो

SamacharDesk – Ram Dangol | २०८० चैत्र २३, शुक्रबार

काठमाडौंको इनाय् टोलमा यो वर्ष पनि पाँहाचह्रेको पूर्वसन्ध्यामा बालबालिकाहरुले “मिनि पाहाँचह्रे” पर्व मनाएका छन् ।

इनाय् टोलका दिदीबहिनी समूहको आयोजना तथा इन्द्र विनायक क्लबको सहयोगमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको छ ।

नेवार समुदायको ठूलो पर्व पाहाँचह्रे आउँदो चैत्र २५ गतेदेखि शुरु हुँदैछ । तर भविष्यका कर्णधार बालबालिकालाई हाम्रो मौलिक संस्कृतिको व्यवहारिक तथा शैध्दान्तिक ज्ञान दिने उद्देश्यले पाहाँचह्रेको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरी हाम्रो मौलिक पर्वबारे जानकारी गराइएको थियो ।

जसरी यस पर्वमा काठमाडौंको टोलटोलमा स्थानीय देवीहरुको खट जात्रा गर्ने, समय्बजी खाने, पूजाआजा गर्ने भोज खाने गर्दछ । सोही पर्वको झझल्को हुने गरी विहीबार मिनिी पाहाँचह्रेको आयोजना गरिएको थियो ।

कार्यक्रममा बालबालिकाहरुले स्थानीय पहिरन लगाएर, जात्राकै अनुभूति हुने गरी रातो निलो, पहेँलो टोपी समेत लगाएर वटु भद्रकाली, टेबहालको भदकाली र कंकेश्वरीको खटको बाजागाजाका साथ धूमधामसँग जात्रा मनाएका थिए ।

उनीहरुले पाहाँचह्रे पर्व सुरुदेखि अन्तसम्म जसरी मनाइछ सोही अनुरुप स्थानीय देवीलाई गममा राख्ने, लुकुमाःद्यःको पूजा, तान्त्रिक विधिबाट पकाइएको भात मलःजा खुवाएर, टुँडिखेलमा खट जुधाएर,असनमा खट जुधाएर जात्रा सम्पन्न गरेको थियो ।

कार्यक्रममा बोल्दै संयोजक राजन शाहीले सानासाना भाइबहिनीहरु तथा विद्यार्थीहरुलाई यहाँको मौलिक कला, संस्कृतिबारे सिकाउन तथा पर्वको महत्वबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको बताए ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरु पनि भएको थियो । 

Categorized in समाज