भाषा, कला, संस्कृतिको संरक्षणमा एकजुट हुन मन्त्री श्रेष्ठको आव्हान
SamacharDesk – बिराज | २०७७ माघ ४, आइतबार

आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आव्हान गर्नुभएको छ ।
ललितपुरको ज्यापू प्रज्ञा भवनमा आज सम्पन्न नेपालमण्डल टेलिभिजनका नवनिर्वाचित संचालक समितिको परिचयसहित स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले हामी भन्ने भावना राखेर काम गर्न सकेको खण्डमा समुदाय अगाडि बढ्न सक्नेमा जोड दिनुभयो ।
कार्यक्रममा श्रेष्ठले दशकदेखि नेवार समुदायको भाषा, कला, संस्कृति, सभ्यताको प्रचारप्रसारमा नेपालमण्डल टेलिभिजनले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै नवनिर्वाचित संचालक समितिलाई शुभकामना दिनुभयो ।
नेपालमण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनले नेपालमण्डल टेलिभिजन भाषा, कला संस्कृति सम्पदा संरक्षणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नको लागि तयार रहेको भन्दै सहकार्यको लागि आव्हान गर्नुभयो ।
बाङमय शताब्दी पुरूष महाविद्यावारिधि डा सत्यमोहन जोशीले अडियो सन्देशमार्फत नेपालमण्डल टेलिभिजनले आगामी दिनमा बाल साहित्यका कार्यक्रम उत्पादन, प्रशारण गर्नको लागि जोड दिनुभयो ।
काठमाण्डौ उपत्यका मेयर फोरमका उपाध्यक्ष समेत रहेका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गर्दै आएका गतिविधिकाबारेमा जानकारी दिँदै नेपालमण्डल टेलिभिजनसँग थप सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नुभयो ।
टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले टोखा नगरपालिकाले सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरेर चाकु लगायतका माध्यमबाट टोखाको पहिचान दिने काम भइरहेको भन्दै यस्को प्रचारप्रसार गरेर नेपालमण्डल टेलिभिजनले ठूलो भूमिका खेलिरहेको बताउनुभयो ।
नवनिर्वाचित संचालक समितिको प्रतिनिधित्व गर्दै उद्योगपति पद्म ज्योति कंसाकारले भाषा कला संस्कतिप्रति समर्पित नेपालमण्डल टेलिभिजनमा आफूहरू आबद्व हुन पाउँदा गौरन्वावित भएको धारणा राख्नुभयो ।
कार्यक्रममा ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्य, ललितपुर उद्योग वाणिज्य संघका नवनिवार्चित अध्यक्ष मनोज बहादुर न्याछ्यं, महासचिव रूपकमान महर्जन, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णलाल महर्जन, अजरमान जोशी, थ्रिस्टार क्लबका अध्यक्ष अरूणमान जोशी, नेपालभाषा मंका खलः यलका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ, ललितपुरका १९ जातिय समाजका अध्यक्षहरू, ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथु लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नवनिर्वाचित संचालक समितिका अध्यक्ष रमेश महर्जन, सदस्यहरू ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति कंसाकार, पंचकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, नेपाःटप अर्गनाइजेशनका अध्यक्ष दिपक श्रेष्ठसहित मंगल महर्जन, कुमार राजा महर्जन, सिल्भिया राजोपाध्याय्, नातिभाइ महर्जन र शर्मिला महर्जनलाई निवार्चन समितिका रोशन बजिमय, सुरेन्द्र श्रेष्ठ र सानु डंगोलले प्रमाणपत्र प्रदान गरेका थिए ।
Categorized in समाज