arin enterprises

सुरक्षाका न्यूनतम मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ३, शनिबार

नेपालमा अहिले लकडाउन खुकुलो भएसँगै सार्वजनिक स्थानहरुमा चहलपहल बढेको छ । सडकमा मानिस तथा सवारीसाधनको भीडभाड, सामाजिक कार्यहरु र जमघट हुन थालेका छन् । विशेष गरेर ठूल्ठूला सपिङ्ग मल, तरकारी बजार जस्ता स्थानहरुमा मानिसहरुको भीडभाड बढि देखिन्छ ।

यस्तो परिस्थितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिन्ता बढेको मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. गौतमले सार्वजनिक स्थानमा हिँडडुल गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डहरु अपनाएको नदेखिँदा मन्त्रालय चिन्तित बनेको बताए ।

भौतिक दूरी, मास्क अनि स्यानिटाइजरको प्रयोगलाई विशेष प्राथमिकतामा राख्न प्रवक्ता गौतमले पुनः अनुरोध गरे ।

यस्ता आधारभूत सावधानी अपनाउन मन्त्रालयबाट मात्र नभई विभिन्न संघ–संस्थानहरुबाट पटक पटक अनुरोध गरिएतापनि सार्वसाधारणले यसलाई गम्भीरतापूर्वक नअपनाएको भन्दै प्रवक्ता गौतमले चिन्ता व्यक्त गरे ।

उनले थपे, ‘लकडाउन खुलेको भने होइन । जनजीवन सहज पार्न जनस्वास्थ्य ध्यानमा राखी, मापदण्डहरु तोकी लकडाउनलाई व्यवस्थित मात्र गरेको हो ।’

यस किसिमका संवेदनशील विषयवस्तुलाई वेवास्ता गरिए कोरोना संक्रमणको जोखिम थप बढ्न सक्ने सम्भावना गौतमले औंल्याए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यसका सम्पूर्ण अङ्गहरुले यस रोग विरुद्धको अभियानमा पूर्ण शक्ति लगाएको दावी गर्दै प्रवक्ता गौतमले संक्रमण नियन्त्रणमा साथ दिन सबैलाई आग्रह गरे ।

Categorized in समाज