ट्वीटरलाई सशुल्क प्लेटफर्म बनाउँदै मस्क
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ३, बुधबार
एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् । मस्कले इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै एक्सलाई पेड प्लेटफर्म बनाउन लागेको बताएका हुन् ।
मस्कले विशेषगरी एक्समा भएका थुप्रै बट अकाउन्ट (कम्प्युटर सिस्टमबाट स्वतः सञ्चालित हुने अकाउन्टहरु) लाई कम गर्न प्लेटफर्मलाई मासिक रुपमा थोरै भए पनि शुल्क तिर्नुपर्ने बनाउन आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, “बट सञ्चालन गर्न पेन्नीको थोरै भाग मात्र खर्च हुन्छ । तर, यदि यसलाई मासिक केही डलर तिर्नुपर्ने बनायो भने बट सञ्चालन गर्दा लाग्ने खर्च बढ्छ” ।
उनका अनुसार बट सञ्चालन गर्नेहरुले हरेक बटका लागि नयाँ भुक्तानी माध्यमबाट रजिस्टर गर्नुपर्ने हुन्छ ।
यसबाट उनीहरुलाई नक्कली अकाउन्ट बनाउनबाट रोक्न सकिने मस्कको विश्वास छ ।
उनले प्रयोगकर्ताबाट यो प्रयोजनका लागि कति शुल्क लिने र यो अहिलेको प्रिमियम प्लानभन्दा कति भिन्न छ भन्ने खुलाएका छैनन् ।
हाल एक्समा मासिक ५५ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । जसमध्ये २० करोड प्रयोगकर्ताले दैनिक रूपमा पोस्ट राख्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।
एक्स सशुल्क संस्करणमा गयो भने प्रयोगकर्ताको यो सङ्ख्या घट्ने निश्चित छ । एक्समा यस्तो व्यवस्था कहिलेबाट लागू हुन्छ भन्ने स्पष्ट छैन ।
यसका लागि कम्पनीले केही विविध पक्षमा काम गर्नुपर्ने भएकाले समय लाग्न सक्ने बताइएको छ ।
हुन त मस्क आफूले चाहेको फिचर लागू गर्न त्यति समय लगाउँदैनन् ।
Categorized in विज्ञान-प्रविधी