arin enterprises

मस्कको तलब सुविधा अदालतद्वारा खारेज

SamacharDesk | २०८० माघ १८, बिहिबार

टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले खारेज गरिदिएको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कलाई टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको भन्दै मंगलवार अमेरिकी राज्य डेलावेयरकी न्यायधीश क्याथलिन म्याककोर्मिकले त्यसलाई खारेज गरेकी हुन् ।

सन् २०१८ मा कम्पनीको शेयर प्रदर्शनका आधारमा तोकिएको अवधिभित्र मस्कलाई ५५ अर्ब ५० करोड डलरको तलब दिने प्रस्ताव टेस्लाको सञ्चालक समितिले पारित गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार मस्कलाई दिने भनेर गरिएको तलब सुविधाको डिल बढी भएको भन्दै शेयरधनी रिचार्ड टोर्नेटाले दायर गरेको मुद्दामा पाँच वर्षपछि अदालतले यस्तो फैसला गरेको हो ।

शेयरधनी टोर्नेटाका वकिलहरूले डेलावेयर अदालतमा मस्कले टोर्नेटाको तलब प्याकेजलाई प्रभावित गरेको भन्ने तर्क दिँदै मस्कसँग उनीहरूको गहिरो सम्बन्ध भएको समेत दाबी गरिएको थियो ।

मस्कको तलब प्याकेज निर्धारण गर्ने कम्पनी निर्देशकहरू स्वतन्त्र नभएको वकिलहरुले बताए । अदालतले भने मस्कले कम्पनीबाट ५५ अर्ब डलरभन्दा बढी तलब लिन नसक्ने र यो कम्पनीको हितमा नभएको ठहर गरेको छ ।

टेस्लाको प्रमुख कार्यकारी हुनुका साथै मस्क प्रमुख शेयरधनी पनि हुन् । मस्कले प्याकेजका रुपमा टेस्लाको ३० करोड ३० लाख स्टक पाउने डिल भएको थियो ।

सीएनएनका अनुसार आजका दिनमा उक्त स्टकको मूल्य ५१ अर्ब डलर हुन्छ । यो अमेरिकाको कर्पोरेट इतिहासमा भएको सबैभन्दा ठूलो डिल थियो । यसले गर्दा नै मस्क विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए ।

न्यायाधीशको यस्तो निर्णयपछि बुधवार टेस्ला र मस्कको शेयर दुई प्रतिशतले घटेको छ । फोर्ब्सका अनुसार बिहीवार मस्कको सम्पत्ति १८२.६ अर्ब डलर छ । यससँगै उनी विश्वको धनाढ्यहरुको सूचीमा दोस्रो स्थानमा झरेका छन् ।

यस महिनाको सुरुवातमै मस्कले टेस्लाको बोर्डलाई कम्पनीमा आफ्नो शेयर १३ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउन आग्रह गरेका थिए ।

न्यायधीश म्याककर्मिकले आफ्नो निर्णयमा टेस्लाले उक्त अप्सन खारेज गर्नुपर्ने बताए पनि अहिलेसम्म कम्पनीलाई त्यसो गर्न औपचारिक आदेश भने दिइएको छैन ।

मस्कले प्याकेजका सर्तहरूमा आफ्नै इच्छा अनुसार ठूलो प्याकेज स्वीकृत गराएको समेत मुद्दा दायरकर्ताको आरोप छ । तर, मस्कका वकिलहरूले उक्त आरोप अस्वीकार गर्दै आएका थिए ।

सन् २०२२ नोभेम्बरमा टेस्लाका बोर्ड निर्देशकहरुले मस्क विश्वकै सबैभन्दा डाइनामिक उद्यमी भएकोले उनको नेतृत्वमा कम्पनी नाफामा जाने बताएका थिए ।

त्यसपछि उक्त रकम बराबरको स्टक उपलब्ध गराएको तर्क दिएका थिए । मस्क टेस्लाबाहेक अन्य थुप्रै कम्पनीका मालिक हुन् ।

हाल उनी रकेट कम्पनी स्पेसएक्स, सामाजिक सञ्जाल एक्स, एआई कम्पनी एक्सएआई, ब्रेन चिप फर्म न्युरालिङ लगायतका कम्पनीका सञ्चालक हुन् ।

Categorized in अन्तर्राष्ट्रिय