भक्तपुरमा तोरीको तेललाई ब्राण्ड बनाइने
SamacharDesk – केके मानन्धर | २०७८ माघ २, आइतबार

भक्तपुरका मानन्धर समुदायले स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफलको शुरुवात गरेका छन् ।
भक्तपुर चेम्बर अफ कमर्सले प्रबद्र्धन गर्ने भएपछि करिव लोप हुने अवस्थामा पुगेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।
भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धिको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको विचार राखे ।
‘लोप हुने अवस्थामा पुगेको मानन्धर समुदायको पुख्र्यौली पेशा तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छाैं’ चेम्बरका अध्यक्ष मानन्धरले भने ।
भक्तपुरमा सम्पन्न कार्यक्रममा पुख्र्यौली पेशा अँगाल्दै आएका साःकोलान, तेखाच्व, तःपालाछि, ग्वःमारिको साथै मध्यपुरको चोडे टोलका व्यवसायीहरू सहभागी थिए । दोस्रो चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेट्ने बताइएको छ ।
भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने उद्देश्य लिई अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ ।
पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्डीङको लागि मानन्धर युवा संघ भक्तपुर जिल्लाले अध्ययन समिति बनाएको छ । भक्तपुर चेम्बरका अध्यक्ष मानन्धरको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरिएको हो ।
संघको अगुवाइमा सम्पन्न प्रारम्भिक चरणको छलफलमा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागी थिए ।
Categorized in बिजनेस