arin enterprises

टेबहालको नासःद्यः मन्दिरको पुनर्निर्माण धमाधम हुँदै

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ आषाढ १, शुक्रबार

काठमाडौं महानगरपालिका २२ वडा टेबहालस्थित नासःद्यःको मन्दिर पुनर्निर्माणको काम धमाधम भइरहेको छ । गत २०८१ बैसाख ३ गते सोमबार विधिवत् क्षमा पूजा गरी सुरु गरिएको मन्दिर पुनर्निर्माण अहिले निरन्तर जारी छ ।

मन्दिरसँगै विगतमा संकटा क्लबको कार्यालय राखिएको मन्दिरसँगैको पाटी पनि परम्परागत शैलीमै पुनर्निर्माण गर्न लागिएको छ ।

स्थानीय जन समुदायकै सहभागीतामा गठन गरिएको नासः पुनर्निर्माण समितिबाट मन्दिर जिर्णोद्धारको काम भइरहेको समितिका सदस्य राधाकृष्ण महर्जनले बताए ।

‘ठेक्कामा काम गर्दा काम त चाँडै सिद्धिएला कि तर गुणस्तरमा शंका रहला । जन समुदायको अपनत्व रहने भएकोले गुणस्तरीय काम अझ कम खर्चमा गर्न सकिन्छ । त्यसैले उपभोक्ता समितिमार्फत काम गरेको हो’ समितिका सदस्य महर्जनको भनाई छ ।

कामपा २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जन पनि सांस्कृतिक सम्पदाको सम्वन्धमा जन समुदायकै सहभागीता हुनुपर्नेमा जोड दिन्छन् ।

‘स्थानीय संस्कृति, सम्पदाको मर्म, मूल्य बुझ्ने भनेको स्थानीय सरोकारवालाहरु नै हुन् । त्यसैले सम्पदाको दीगो संरक्षणमा स्थानीय सरोकारवालाकै सहभागीता हुनुपर्छ भनेर उपभोक्ता समितिमार्फत यस नासःद्यःको पुनर्निर्माण शुरु गरिएको छ’ वडाध्यक्ष महर्जनको भनाई हो ।

करीब दुई वर्ष अगाडी नै यो मन्दिर पुनर्निर्माणको लागि योजना बनेको तर नियमावली, समय लगायतका विभिन्न प्राविधिक कारणहरुले काम अगाडी बढ्न नसकेको नासःद्यः पुनर्निर्माण समितिका अध्यक्ष राम सुवालले बताए ।

‘सुरुमा अगाडीको भित्तामा दाचि ईँटा राखी मर्मत मात्र गर्ने कुरा पनि आयो, तर छलफलको क्रममा मन्दिरसँगै पाटी पनि पुरानै शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरेर काम अगाडी बढायौं’ अध्यक्ष सुवालले भने ।

मन्दिर जिर्णोद्धारको लागि ६९ लाख लागत अनुमान गरिएको छ । यसको लागि पाँच प्रतिशत जनसहभागीता र बाँकि रकम पुर्व प्रदेश सांसद र वडाबाट सहयोग भएको समिति सदस्य राधाकृष्णले बताए ।

‘पाँच प्रतिशत जनहसभागीता छ भने १३ लाख रुपैयाँ यस अघिका प्रदेश सांसदको बजेटबाट प्राप्त भएको छ । बाँकि रकम २२ वडा कार्यालयबाट सहयोग भएको छ’ समिति सदस्य महर्जनले बताए ।

पुनर्निर्माणको काम यहि आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने कामको गति अनुसार लक्षित समयमै काम सम्पन्न हुने समितिले जनाएको छ ।

फाइल फाेटाे

टेबहाललाई बौद्ध धर्मावलम्बीहरु राजकीर्ति महाविहारको रुपमा लिन्छन् । यसै बहालभित्र संकटा, रातो मच्छिन्द्रनाथ, भद्रकाली लगायतका देवीदेवताको मन्दिर रहेको छ ।

यस नासःद्यःको स्थापना कहिले कसले गर्यो भन्ने बारेमा कुनै ठोस प्रमाण देखिँदैन । मन्दिरको निर्माण भने ३८ सालतिर तत्कालीन वडाध्यक्षले गरेको समिति सदस्य राधाकृष्ण महर्जन बताउँछन् ।

४५ सालको र ७२ सालको भूकम्पले साधारण क्षतिबाहेक केही नभएको यस नासःद्यःको पुरानो मन्दिर भने जग बिना नै भइराखको समितिमा अनुगमन संयोजक समेत रहेका राधाकृष्णले जानकारी दिए ।

काठमाडौं उपत्यकामा विशेष गरेर बाद्यवादन वा नृत्य सिक्नेहरुले नासःद्यःको पूजा उपासना गर्ने गर्छन् ।

टेबहालस्थित यस नासःद्यःमा स्थानीय उदाय समाजले वर्षको एक पटक धाःबाजा सिकाउने बेला पूजा गर्न आउने गरेको तर यो परम्परा अहिले टुटिसकेको राधाकृष्णले जानकारी दिए ।

पुखूद्यांका ज्यापुहरुको दाफा, तग्वः धिमेय्, बाँसुरी सिकाउने बेला यहाँ नासः पूजा गर्ने गरेको छ ।

ज्यापु समुदायमा वला छ्वयेगु भनी बाजा परम्परा नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने भनेर विशेष पूजा गरिन्छ । पाको पुखुद्यांका ज्यापु समुदायले पनि १२ वर्षको एक पटक यहाँ ‘वला छ्वयेगु’ भनी राँगोको बलिसहित विशेष पूजा गर्ने गरेका छन् । 

Categorized in समाज