सवारी साधनको कुम्भ मेला, नाडा अटो शो सुरू
SamacharDesk | २०८१ भाद्र ११, मंगलबार
सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।
हरेक वर्ष दसैंअघि आयोजना हुँदै आएको अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ । यो नाडा अटो शोको १६औँ संस्करण हो ।
पछिल्ला बर्ष मुलुकमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएको छ । गत बर्ष मुलुकमा भित्रने सवारीमध्ये झण्डै ७१ प्रतिशत विद्युतीय सवारी भित्रिएको नाडाको तथ्यांक छ ।
अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल भेहिकल प्रदर्शनीमा राखिएको छ । सवारी आयातकर्ता व्यवसायीहरूले भारत र चीनमा निर्मित न्यून रेन्जदेखि प्रिमियम क्लासका महँगा विद्युतीय सवारी अटो शोमा उतारेका छन् ।
टाटा पन्च, लिप मोटर्सको सी–१०, जिकर एक्स, क्यूट–०४, एक्सपेङ जी–६, जीएसी एवोन–भी, एमजी जेडएस ईभी, एमजी साइबरस्टर, स्मार्ट ह्याज थ्री, नामी ई–वान, बीवाईडी अट्टो–३ ब्ल्याक, सुजुकी स्वीफ्ट, दिपल एस–०७, एचईभी–३००, महिन्द्रा एक्सयूभी थ्रीएक्सओ जस्ता नयाँ मोडल तथा ब्राण्डका १ सय ३० वटा स्टलबाट यो वर्षको अटो शो सुचारु भइरहेको छ ।
नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यस बर्ष प्रदर्शनीमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको सहभागिता अत्यधिक रहेको पाइएको छ ।
प्रदर्शनीमा कम्पनीहरुले सवारी साधन खरिद एवं बुकिङमा विभिन्न छुट एवं सुविधाका योजना ल्याएका छन् ।
यता बैंकहरुले पनि गाडीका पारखीहरुलाई एकल अंकको अन दि स्पट स्थिर ब्याजदरको सुविधा प्रदान गरेको छ ।
Categorized in बिजनेस