नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा (फोटो फिचर)
SamacharDesk – आभास धरानन्द राजोपाध्याय | २०७८ चैत्र १४, सोमबार

नरदेवीको श्वेतकाली अर्थात् ङतभुलु अजिमाको १२ वर्षे नाचअन्तर्गत आज बिहान देशयात्रा सम्पन्न भएको छ ।
आइतबार अपराह्न नरदेवीस्थित द्यःछेँ (देवीघर)बाट सुरु भएको देशयात्रा रातभर काठमाडौँका विभिन्न टोलहरूमा घुमाई सोमबार बिहान सम्पन्न भएको हो ।
नरदेवीस्थित श्वेतकाली द्यःछेँबाट सुरु उक्त यात्रामा विशेषतः श्वेतकाली अजिमा मुख्य हुन् । देवीका अन्य गणमा गणेश, चण्डेश्वरी, सुथःमाजु, कुमारी, भैरव, वाराही, नारायणी, महालक्ष्मी, रुद्रायणी, इन्द्रायणी, महादेव, कुमार, सिंहिनी, व्याघ्रिनी, ध्वों, खिचा र दैत्य रहने नरदेवी श्रीश्वेतकाली (ङतभुलु) अजिमा १२ वर्षे देवीनाच समारोह समितिले जनाएको छ ।
देशयात्राका क्रममा धिमय्, बाँसुरी, खिं, कां, झ्यालीलगायत विभिन्न किसिमका बाजाहरू पनि निकालिएको थियो ।
द्यःछेँबाट देवताहरूको यात्रा चलाउँदा पूरै बाटोभर देवगण हिँड्ने बाटोमा कपडा बिछ्याउनुपर्ने चलन छ । यसलाई नेपाल भाषामा वसलाय् भनिन्छ । यसरी वसलाय् गरी निकालिने उक्त जात्राका क्रममा नरदेवी मन्दिरतर्फको मन्दिरभन्दा पश्चिममा राखिने स्वर्णद्वारबाट भित्रिनुपर्ने चलन छ । यो विधि १२ वर्षको जात्रामा मात्र गरिने समितिले जनाएको छ ।
यो पनि हेर्नुहोस् –
श्वेतकाली द्यःछेँबाट सुरु उक्त यात्रा नरदेवी मन्दिर, टेंगल, न्ह्योखा, थाय्मदु, न्ह्याकंतला, असन, बालकुमारी, केलटोल, जनबहाल हुँदै इन्द्रचोक, मखन, हनुमानढोकाबाट मरुटोल पुर्याइएको थियो । त्यहाँबाट प्राचीन शहरको दक्षिणी क्षेत्रअन्तर्गत अट्को नारायण, चिकंमुगल, मजिपाट, जैशीदेवल, कोहिति, भीमसेनस्थान हुँदै पुनः काष्ठमण्डप, मरुटोलबाट उत्तरतर्फ प्याफल, यट्खा, नरदेवी हुँदै श्वेतकाली द्यःछेँमा लगी देशपरिक्रमा वा देशयात्रा विसर्जन गरिएको थियो ।
नरदेवीको १२ वर्षे जात्राका क्रममा द्यःछेँमा यःसिं उठाइने पनि प्रचलन छ ।
फोटो ग्यालरी : नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा
Categorized in संस्कृति