चलचित्र पत्रकारिता दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ जेठ ७, शुक्रबार

आज जेठ महिनाको ७ गते, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस । चलचित्र पत्रकारिता विगत र वर्तमान सम्वन्धि विभिन्न चर्चा गर्दै यस वर्ष २२ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाईँदैछ ।
विगतका दिनहरुमा विभिन्न सम्मान तथा पुरस्कार दिँदै यो दिवस मनाइने गरिन्थ्यो । तर पछिल्ला दुई वर्ष महामारीको अवस्थामा भौतिक उपस्थितीका बीच दिवसको कार्यक्रम हुन सकेको छैन ।
यस वर्ष पनि यो दिवसको कार्यक्रम भर्च्युअल रुपमै सीमित हुने भएको छ ।
‘चलचित्र पत्रकारिताको आधार, प्रेस स्वतन्त्रतासहितको संगठित, मर्यादित र व्यावसायिक पत्रकार’ भन्ने नारासहित यस वर्ष चलचित्र पत्रकारिता दिवस मनाईँदैछ । दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले ‘जुम’मार्फत भर्च्युअल कार्यक्रमको आयोजना गरेको छ ।
वरिष्ठ सिने पत्रकार साथै चलचित्र निर्देशक विजयरत्न तुलाधर नेपालमा चलचित्र पत्रकारिताको शुरुवात यसै समयबाट भयो भनेर किटान गरेर भन्न नसकिने बताउनुहुन्छ ।
‘२०२९ मंसीर १ गतेका दिन गोरखापत्र दैनिकमा चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले ‘नेपालमा चलचित्र वितरण र प्रदर्शन’ शीर्षकको लेख प्रकाशित गर्नुभएको थियो । यसभन्दा अघि चलचित्र सम्वन्धि कुन कुन पत्रिकाले के कति स्थान दिएको छ, यो अध्ययन र अनुसन्धानको विषय हो’ तुलाधरले भन्नुभयो ।
२०५६ जेठ ७ गतेका दिन चलचित्र पत्रकारहरु संगठित हुँदै चलचित्र पत्रकार संघ नेपाल गठन भएको थियो । सोही दिनलाई आधार मानेर नेपालमा जेठ ७ गतेको दिनलाई राष्ट्रिय चलचित्र पत्रकार दिवसको रुपमा मनाईँदै आएको छ ।
२०३१ साललाई नै आधार मान्ने हो भने नेपालमा चलचित्र पत्रकारिताको शुरुवात भएको ४७ वर्ष भइसकेको छ ।
नेपालमा प्राय ठुला समाचार संस्थाहरुले राजनीतिक क्षेत्रका समाचारलाई नै पहिलो प्राथमिकतामा राख्ने र कला वा चलचित्र बिटलाई अन्तिम प्राथमिकतामा राख्ने गरेको देखिन्छ । यसै कारण चलचित्र क्षेत्रका समाचारले उचित स्थान पाउन सकिरहेको छैन ।
राज्य तहबाट पनि यसतर्फ कुनै चासो दिएको देखिँदैन । अन्य दिवसहरुमा देशका मन्त्री, ठुला नेताहरुबाट शुभकामना सन्देश जारी भएपनि आजको दिनमा चलचित्र पत्रकारहरुको लागि कुनै शुभकामनाका शब्द नआउनु यसको ठुलो प्रमाण बनेको छ ।
यस्तो अवस्थाका कारण पनि नेपालमा चलचित्र पत्रकारिताले ५ दशक पूरा गर्न लागेको अवस्थामा पनि यस क्षेत्रको समुचित विकास हुन सकेको छैन ।
Categorized in पेजथ्री