मूर्त–अमूर्त सम्पदा रक्षार्थ लागिरहने छु : मन्त्री हरिप्रभा खड्गी
SamacharDesk | २०८१ भाद्र १४, शुक्रबार

नेपालभाषा केन्द्रीय विभागले ४४ औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले “काठमाडौँ उपत्यका जीवन्त सङ्ग्रहालय हो” भन्नुभयो ।
यहाँका मूर्त–अमूर्त सम्पदा, संस्कृतिको रक्षार्थ पहिलेदेखि आफू लागि परेको र अहिले पनि निरन्तर लागिरहने बताउनुभयो ।
बागमती प्रदेश मन्त्री खड्गी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालभाषा, साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पुर्याउनु भएका प्रा. प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको थियो ।
सो अवसरमा बागमती प्रदेशमा नेपाल भाषा सरकारी कामकाजी भाषाको रुपमा मान्यता प्राप्त भइसकेकोले सरकारी निकायहरुमा नेपाल भाषामा दखल भएका जनशक्ति चाहिएमा विभागले सहयोग गर्ने नेपाल भाषा विभाग प्रमुख राजनलाल जोशीले बताउनुभयो ।
नेवाः सहित्य, संस्कृति, सभ्यता उत्थानका लागि बैकुण्ठ लाकौल पुरस्कार तथा महिला विद्यार्थीहरुको प्रोत्साहनको लागि चैन लाकौल पुरस्कार व्यवस्था गरिदिएकोमा नेपालभाषा केन्द्रीय विभाग सदैव आभारी रहेको बताए ।
कार्यक्रममा गत तीन शैक्षिक सत्रमा नेपालभाषा स्नाकोत्तरमा सबैभन्दा बढी अङ्क ल्याई उत्तीर्ण कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठलाई चैन लाकौल पुरस्कारबाट सम्मानित गरिएको थियो ।
Categorized in समाज