arin enterprises

नेपालको विजुली बंगलादेशमा निर्यात

SamacharDesk | २०८१ कार्तिक ३०, शुक्रबार

नेपालले तेस्रो मुलुकलाई विद्युत निर्यात शुक्रबारदेखि शुभारम्भ गरेको छ ।

आज नेपालले भारत हुँदै बंगलादेशमा विद्युत निर्यातको औपचारिक रुपमा शुभारम्भ गरेपछि नेपाली विद्युती तेस्रो मुलुक बंगलादेशसम्म पुगेको हो ।

नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा आजबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।

आज नेपालका तर्फबाट ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक शुरुवात गर्नुभएको हो ।

पहिलो चरणमा नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । सो अवसरमा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात शुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताउनु भयो ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले प्रति युनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत निर्यात शुक्रवार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात शुरु हुनेछ ।

Categorized in बिजनेस