UNCOPS का लागि नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ ११, सोमबार

चौथो युनाइटेड नेसन्स चीफ्स अफ पुलिस समिति (UNCOPS) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ ।
गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय प्रतिनिधिमण्डल सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । आउँदो असार १२ देखि १३ गतेसम्म अमेरीकाको न्यूयोर्कमा उक्त समिट संचालन हुन लागेको हो ।
गृह सचिव अर्यालसँगै समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरीका प्रस्थान गर्न लागेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाई गरेका थिए ।
समिटमा विभिन्न एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।
समिटमा नेपाली प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू र विभिन्न देशका प्रतिनिधिहरुसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
यता प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
Categorized in समाज