अवैध रुपमा अमेरिका हिँडेका नेपालीहरु ब्राजिलमा अलपत्र
SamacharDesk | २०८१ भाद्र ११, मंगलबार

अवैध रुपमा अमेरिका हिंडेका १७६ जना नेपालीहरु ब्राजिलमा अपलत्र परेका छन् ।
ती अलपत्र परेका नेपाली नागरिकहरु ब्राजिलको साओपालो विमानस्थलमा अलपत्र रुपमा रहेको ब्राजिलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्याउने दूतावासले जनाएको छ । मानव तस्करहरूले मोटो रकम लिएर उनीहरुलाई विभिन्न देश हुदै ब्राजिल पु¥याएको र त्यहाँको विमानस्थलमा छाडेर तस्करहरु भागेको पनि दूतावासले जनाएको छ ।
साउपाउलो विमानस्थलको ट्रान्जिटमा करिब सात सय विदेशी अलपत्र परेकोमा उनीहरु मध्ये १७६ जना नेपाली रहेको जनाएको छ ।
मानव तस्करलाई मोटो रकम बुझाएर अमेरिका हिंडेकाहरुले अकल्पनीय पीडा बेहोर्नु पर्ने गरेको भन्दै दूतावासले तस्करको प्रलोभनमा नफस्न पनि आग्रह गरेको छ ।
पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।
यो नियम लागू नहुँदासम्म तस्करहरुले ब्राजिलसम्म विमानबाट लगेर त्यहाँबाट सडक तथा अनकन्टार क्षेत्रको बाटो पैदलै हिंडाएर सिमाना कटाउने गर्दथे ।
अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।
साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पाएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरू देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।
Categorized in राष्ट्रिय