arin enterprises

बंगलादेशमा गवाहको सुरक्षाको लागि नयाँ कानून ल्याईँदै

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ कार्तिक ९, मंगलबार

गत १३ अक्टोबरमा पूजा मण्डपमा भएको हमला पछि बंगलादेशले गवाही दिने गवाहको गोपनीयता र सुरक्षालाई लिएर नयाँ कानून लागू गर्ने भएको छ ।

बीबीसीसँगको कुराकानीमा बंगलादेशका कानूनमन्त्री अनीसुल हकले अल्पसंख्यक समुदायमाथि हमलाको घटनाको सुनुवाईको परिप्रेक्षमा सरकारले यो कानूनी पहल गर्न लागेको बताएका हुन् ।

कानूनमन्त्री अनीसुलले गवाहको अभावमा अल्पसंख्यकमाथिको हमलाका मुद्दाहरुमा सुनुवाईको प्रक्रिया लम्बिने र कुनै कुनै मुद्दामा त फैसला नै नहुनेसम्मको अवस्था रहेको बताए । यस्तो अवस्थाका कारण सरकारले गवाहको सुरक्षाका लागि नयाँ कानून ल्याउन लागेको अनीसुलको भनाई थियो ।

कानूनमंत्री अनीसुल हकका अनुसार सरकारले यस अघि पनि यस्तो कानून बनाउन पहल गरेको थियो । तर १३ अक्टोबरका दिन कुमिल्लाको पूजा मण्डपमा कुरान भेटिएको घटना पछि बंगलादेशका विभिन्न भागमा साम्प्रदायिक हिंसा र हमलाहरुलाई मध्यनजर गर्दै यस्ता मुद्दाको सुनवाईको विषय फेरी अगाडी आएको हो ।

‘यस्ता मुद्दाहरुमा गवाह निडर हुँदै गवाही दिन हिचकिचाउने गर्छन्, त्यसैले गवाह संरक्षण कानून बनाउनका लागि यस अघि पनि पहल गरिएको थियो । अब यो, कानून बनाएर हामी चाँडै नै लागू गर्नेछौं’ अनीसुलको भनाई थियो ।

नयाँ कानून अनुसार कसैले गवाहलाई कुनै पनि किसिमको दुर्व्यवहार गरेमा त्यसलाई अपराध मानेर त्यस्तो गर्नेलाई कारवाही गरिनेछ ।

मानवाधिकार संगठन आइन ओ सालिश केन्द्र (कानून र मध्यस्थता केन्द्र) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा २०१३ देखि गएका ९ वर्षभित्र बंगलादेशमा अल्पसंख्यक समुदाय, अझ त्यसमा हिन्दू समुदायमाथि हमलेका साढे ३ हजार बढि घटनाहरु भएका छन् ।

ती घटनाहरुमा हिन्दूहरुको घर र व्यवसायिक प्रतिष्ठान अनि पूजा मण्डप, मन्दिरहरुमा हमला, तोडफोड र आगजनी भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय