arin enterprises

विन्डोज ११ को नयाँ अपडेटसमा आयो एआई टुल सहित १५० बढी फिचर

SamacharDesk | २०८० कार्तिक १६, बिहिबार

माइक्रोसफ्टले विन्डोज ११ले २०२३ को अपडेट version 23H2 दिन सुरु गरेको छ । कम्पनीले मंगलबारदेखि प्रयोगकर्ताहरुको लागि १ सय ५० भन्दा बढी नयाँ फिचरहरु सहित अपरेटिंग सिस्टममा नयाँ अपडेट दिन थालेको हो ।

नयाँ अपडेटसमा ओपनएआईको जीपीटी फोर एकीकृत गरिएको कोपाइलट हुनुका साथै थपिएका अधिकांश फिचरमा एआई टुलहरु समावेश भएको माइक्रोसफ्टले जनाएको छ ।

नयाँ अपडेटमा माइक्रोसफ्टले फोटो तथा भिडिओ सम्पादन गर्न एआईलाई विशेष प्राथमिकता दिएको छ ।

यसका लागि प्रयोगकर्ताले क्लिपच्याम्प (clipchamp) एप प्रयोग गर्न सक्नेछन् । यसबाट विन्डोज व्यवस्थित गर्नुका साथै वेब पेज सारांश गर्न, लेखको खेस्रा तयार पार्न तथा सम्पादन गर्न र स्न्यापिङ टुल प्रयोग गरी फोटोको आकार घटाउन बढाउन सकिने छ ।

त्यस्तै अपडेटपछि सिस्टममा नै हुने फोटो एपबाट ब्याकग्राउन्ड ब्लर गर्न सकिने, पेन्ट एपमा लेयर थप्न मिल्ने र फोटोको ब्याकग्राउन्ड हटाउनुका साथै सम्पादन गर्न सकिने छ ।

विन्डोज ११ को version 22H2 प्रयोग गरिरहेका प्रयोगकर्ताले म्यानुअली नयाँ अपडेट गर्नसक्ने बताइएको छ ।

यसका लागि सेटिङमा गएर विन्डोज अपडेटमा जानु पर्ने हुन्छ । साथै माइक्रोसफ्ट मेल एप आउटलुकमा पनि थप फिचर थपिएकका छन् ।

तर आगामी महिनाहरूमा प्रयोगकर्ताहरूले यो अपडेट स्वतः पाउने बताइएको छ । त्यस्तै सुरक्षाका लागि नयाँ अपडेटले पासकी सपोर्ट गर्ने छ ।

Categorized in विज्ञान-प्रविधी