‘न्यू जेनिथ डे’ भव्यताका साथ सम्पन्न
SamacharDesk – बिराज | २०८१ मङ्सिर ३०, आइतबार

तपाईँ घरमा मिनरल वाटर, सस, कुनै पेय पदार्थ त पक्कै ल्याउनु हुन्छ होला । ती सामग्री ल्याएर खाली भएको बोटल तपाईँ के गर्नुहुन्छ ? पक्कै घरमा पानी पिउन अथवा अन्य कुनै सामग्री राख्न प्रयोग गर्नुहुन्छ होला अथवा फ्याक्नुहुन्छ होला, हैन ?
तर, आफ्ना बच्चाहरुको हातमा त दिनुहुन्न होला । ‘फुटाइदेला, टुक्रा काँचले घाउ होला, चोटपटक लाग्ला’ यस्तै त भन्नुहुन्छ होला । तर यस्तो सोच्नु गलत रहेछ ।
यस्तै लाग्ला वा लाग्यो होला तपाईँलाइ, न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको न्यू जेनिथ डे कार्यक्रमको अवलोकन गरेपछि ।
खेर जाने खाली बोटललाई रातो मच्छिन्द्रनाथको रुप दिन सकिँदो रहेछ । बोटलबाटै अन्नपूर्ण कलश पनि बनाउन सकिने रहेछ । यति मात्र होइन, खाली बोटललाई अरु पनि के के हो के के, कलात्मक रुप दिए न्यू जेनिथका विद्यार्थीहरुले ।
यो कार्यक्रममा सहभागी भई हामीले आफ्ना बच्चाहरुलाई किताबी रटाईँभन्दा यस किसिमका रचनात्मक कार्यको लागि हौसला दिनुपर्छ भन्ने लाग्यो मलाई
ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित स्कूलले आफ्नो स्थापना दिवसको अवसरमा स्कूल परिसरमा सांगितिक कार्यक्रम र विभिन्न कला प्रदर्शनीसहित शनिवार न्यू जेनिथ डे कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा स्कूलको पाँचवटै ब्लकहरुमा विभिन्न प्रदर्शनी, खेल गतिविधि, फुड स्टल, विभिन्न सामग्रीहरुको स्टल र सांगितिक प्रस्तुतिसहित कार्यक्रमको आयोजना गरिएको थियाे ।
यसै क्रममा स्कूलको ब्लक ‘सी’मा विद्यार्थीहरुबाट बनाइएको बोटल आर्टको साथमा चित्रकला र विभिन्न कलात्मक सामग्री प्रदर्शनीमा राखिएको थियो ।
‘हामीले फ्याक्ने बोटलमा विद्यार्थीहरुले कला देख्ने रहेछ । यो कार्यक्रममा सहभागी भई हामीले आफ्ना बच्चाहरुलाई किताबी रटाईँभन्दा यस किसिमका रचनात्मक कार्यको लागि हौसला दिनुपर्छ भन्ने लाग्यो मलाई’ कार्यक्रमका सहभागी एक अभिभावकले भने ।
ब्लक ‘ए’ र ‘बी’ मा खेलौना, अन्य विभिन्न सामग्रीको स्टल र फुड स्टलसँगै सांगितिक कार्यक्रम गरिएको थियो ।
स्कूलको होटल म्यानेजमेन्ट विषयतर्फ ११, १२ कक्षाका विद्यार्थीहरुको संयोजनमा फुड स्टलहरु राखिएको थियो । फुड स्टलमा ममः, पानीपुरी, चटपटेको साथमा स्थानीय परिकार वः, चतांमरि, समयबजि, यःमरि पनि राखिएको थियो ।
‘विद्यार्थीहरुको प्रतिभा सबैले हेर्न पाओस् र विद्यार्थीहरुले स्थानीय संस्कृति, परम्पराबारे पनि बुझाउन हामीले कार्यक्रम गरेका हौं । विद्यार्थीहरुले कितावी ज्ञान मात्र नभई, व्यवहारिक ज्ञान पाउनु मुख्य कुरा हो’ स्कूलका प्रिन्सिपल राजु महर्जनले भने ।
साथमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाले गीतको साथमा नृत्य प्रस्तुत गरेका थिए ।
त्यसैगरी समीर श्रेष्ठ, सुरज एन्ड एलुरीज ब्यान्ड र न्यू जेनिथ अर्केस्ट्रा ब्यान्डले सांगितिक प्रस्तुति दिएका थिए । फोक इन्स्ट्रुमेन्टल ब्यान्ड न्यू जेनिथ अर्केस्ट्राको प्रस्तुतिमा दर्शकहरुले निकै रमाइलो मानेका थिए ।
विद्यार्थीहरुको प्रस्तुति देखेर काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष न्हुछेकाजी महर्जन पनि निकै प्रभावित देखिन्थे ।
‘आफ्नै वडाभित्र रहेको विद्यालयका विद्यार्थीहरुको प्रतिभा देखेर निकै खुसी लागेको छ । स्कूलले शैक्षिक विषयवस्तुसँगै अतिरिक्त क्रियाकलापमा कुन किसिमले जोड दिएको छ भनेर यहाँको विद्यार्थीहरुको प्रतिभा देखेर बुझ्न सकिन्छ’ वडाध्यक्ष महर्जनले भने ।
कार्यक्रमको समुद्घाटन वडाध्यक्ष महर्जनको साथमा प्याब्सनका उपाध्यक्ष गोपाल राज आचार्यले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।
ब्लक ‘डी’ मा ह्यान्ड राइटिङ र ब्लक ‘ई’ मा रोबोटिक्स सामग्री प्रदर्शनी गरिएको थियो ।
यो कुनै बालबालिकाले बनाएका सामग्री नभई, ठुला वैज्ञानिकहरुको काम जस्तो पनि लागिरहेको छ
कार्यक्रमको अवलोकन पछि प्याब्सन उपाध्यक्षको साथ सिइइएफका अध्यक्ष आचार्य पनि कम प्रभावित देखिएका थिएनन् ।
‘यहाँका विद्यार्थीहरुको कला, विद्यार्थीहरुको ह्यान्ड राइटिङ, भौतिक विज्ञानको ज्ञान अद्भुत छ । यो कुनै बालबालिकाले बनाएका सामग्री नभई, ठुला वैज्ञानिकहरुको काम जस्तो पनि लागिरहेको छ’ आचार्यको भनाई हो ।
विहान ११ बजेदेखि अपराह्नको ४ बजेसम्म चलेको कार्यक्रमलाई ५ हजार बढिले अवलोकन गरेको स्कूलले जनाएको छ । वि.सं. २०५७ सालमा स्थापित न्यू जेनिथ स्कूलको स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
Categorized in समाज