arin enterprises

नेवार समुदायमा तिहारको तिथिको सम्वन्धमा यस वर्ष पनि अन्यौल

SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

नेवार समुदायमा यस वर्ष पनि तिहार मनाउने सन्दर्भमा अन्यौल र विवादको स्थिती देखिएको छ । तिहार मनाउने दिनको विषयलाई लिएर पाटन र काठमाडौंबाट फरक विचारका दुई अलग अलग विज्ञप्ती प्रकाशन भएका छन् ।

न्हूदँ समारोह समिति ललितपुरले पात्रोमा उल्लेख भए अनुसार नै तिहार मनाउने भन्दै विज्ञप्ती जारी गरेको छ ।

ललितपुरका १९ जातीय संघसंस्थाको हस्ताक्षरसहित संयुक्त विज्ञप्ती जारी गरिएको हो ।

ललितपुरका ज्योतिषी, गुरुजु, संस्कृतिविद, विभिन्न जातीय परम्परा, संस्कृतिमा दखल भएका परम्परा, संस्कृतिका अगुवाहरुको संयुक्त छलफलबाट पात्रो अनुसार पर्व मनाउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा कार्तिक २९ गते विहान कुकुर तिहार मनाई बेलुकी लक्ष्मी पूजा गर्ने, ३० गते म्हपूजा र मंसीर १ गते किजापूजा मनाउने निर्णय गरेको छ ।

नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) १ गते नै मनाउने निर्णय गरिएको छ ।

त्यसैगरी काठमाडौंमा भएको १६ जातीय संघसंस्थाले भने २८ गते कागतिहारबाट शुरु हुने यमपञ्चक लहरै पाँच दिन मनाउने निर्णय गरेको छ ।

नेवार समाजमा लागेको तिथि अनुसार नभई सुर्योदयको तिथि अनुसार पर्व मनाउने परम्परा रहेको भन्दै पाँच दिन लहरै पर्व मनाउने निर्णय भएको विज्ञप्तीमा भनिएको छ ।

 

सोही विज्ञप्तीमार्फत १६ जातीय संस्थाले तिथिको लाग्दो पर्व छोड्दो व्रत भनि सिकाउनेहरुले नै किन लाग्दो तिथिमा पर्व मनाउन भनियो भन्दै आश्चर्य पनि व्यक्ति गरेका छन् । ।

भूगोल वा जातीय समुदाय अनुसार पर्व मनाउने परम्परा फरक हुन सक्ने भएकोले अन्य परम्पराको सम्मान आफुहरुले राखेको पनि विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती अनुसार काठमाडौंका १६ जातीय संगठनले भने २८ गते कागतिहार, २९ गते कुकुरतिहार मनाएर ३० गते लक्ष्मीपूजा, मंसीर १ गते म्हपूजा र २ गते किजापूजा मनाउने भएको छ ।

साथै १६ जातीय संगठनहरुले मंसीर २ गते किजापूजाको दिन सार्वजनिक विदा घोषणा गर्न पनि सरकारसँग माग गरेको छ ।

न्हूदँको सवालमा भने दुवै जिल्लाका जातीय संगठन एकमत भएका छन् । न्हूदँ भने मंसीर १ गते नै मनाइने भएको छ ।

यसअघि नेवाः देय् दबू लगायत विभिन्न ६ वटा संगठनले न्हूदँ मंसीर १ गते मनाउने र आ–आफ्नो धर्म परम्परा अनुसार मनाउन आव्हान गर्दै विज्ञप्ती जारी गरिसकेको छ ।

Categorized in संस्कृति