arin enterprises

स्वच्छ माटोको सन्देशसहित आज विश्व माटो दिवस मनाईँदै

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २०, शनिबार

आज डिसेम्बर ५ कै दिनमा विश्वभरी विश्व माटो दिवस पनि मनाइँदै छ । जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको स्वस्थ माटोको महत्त्व जनचेतना फैलाउन हरेक वर्ष डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानको आव्हानमा हरेक वर्ष डिसेम्बर ५ का दिन विश्वभरी विश्व माटो दिवस मनाउँदै आएको छ ।

थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत दिएका थिए । त्यसैले उनकै जन्मदिनको दिन अर्थात् ५ डिसेम्बरमा यो दिवस मनाउने गरिएको हो ।

माटोको महत्व दर्शाउन भन्दै माटो दिवस मनाउने गरिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास आउँदै गएकाले सबैको चिन्ता बढेको छ ।

नेपालमा गरिएको एक सर्वेक्षणमा यहाँका माटोमा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको देखिएको थियो । यस्तै अवस्था रही रह्यो भने ८०/९० वर्षभित्र एउटा पनि जमिन खेतीयोग्य नरहने वैज्ञानिकहरूको तर्क छ ।

९५ प्रतिशत खानेकुरा माटोमार्फत नै प्राप्त हुने र अहिले माटो दूषित हुदँ गएका कारण मानव समाजमा रोग र स्वस्थ्य समस्या बढ्दै गएर मानिसहरु अस्वस्थ हुँदै गएको युएनले जनाएको छ ।

स्वच्छ माटोको संरक्षणको लागि अहिले नै केही नगरे विश्वले चाँडै नै खाद्यान्न सङ्कटको सामना गर्नुपर्ने विज्ञहरुको भनाई छ ।

माटो खाद्यान्नको श्रोत मात्र नभएर धेरै किटपतङ्ग र जीवहरुको वासस्थानसमेत भएकोले अहिले माटो दुषित हुँदै जाँदा वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर परेको छ ।

आधुनिकीकरण र विकासको नाममा माटो दुषित हुँदै गएकाले माटोको संरक्षणका लागि कुनै ठोस योजना वा कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरुले भन्दै आएका छन् ।

Categorized in समाज