arin enterprises

धनगढीमा प्रहरी हत्याका मुख्य योजनाकार समातिए

SamacharDesk – बिराज | २०७७ पौष १३, सोमबार

धनगढीको जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत दुई प्रहरीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् ।

प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साउदको हत्या गरी फरार रहेका धनगढीकै सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

गत कार्तिक १ गते सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि जुगेडाको दक्षिणी भागमा नियमित गस्तीमा निस्केका सहायक निरिक्षक गोबिन्द र प्रहरी जवान राम बहादुर बेपत्ता भएका थिए ।

उनीहरुको खोजी गर्ने क्रममा भोलिपल्ट विहान धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक गोबिन्दको शव मोहना नदीमा फेला परेको थियो । त्यस्तै प्रहरी जवान राम बहादुरको शव कार्तिक ४ गते बिहान सोही नदीमा फेला परेको थियो ।

भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले दुवैको हत्या गरिदिएको थियो ।

हत्यापछि घटनाका मुख्य योजनाकार अमर फरार भई भारततर्फ लुकिछिपि बसिरहेको थियो । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपनपा–१९ फुलबारी क्षेत्रको नेपाल भारत सिमा नजिक अमरलाई फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई यस अघिनै विभिन्न मितिमा पक्राउ गरीसकेको छ ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए भने राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी तिरी तारेखमा छुटेका थिए ।

Categorized in अपराध