क्षमता र योग्यता चुनाव जित्ने आधार रहेको जोशीको दाबी
SamacharDesk – बिराज | २०७७ पौष १६, बिहिबार

ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा हुँदैछ । त्यसको लगतै शनिबार निर्वाचन हुनेछ । शनिबार हुने निर्वाचनमा जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
२०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले कोषाध्यक्ष, महासचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ । आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको जोशीको भनाई रहेको छ ।
‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु, त्यसको समाधान गर्ने योजना र इच्छाशक्ति ममा छ । यसलाई आम व्यवसायीले मुल्याकंन गर्ने विश्वास लिएको छु’ जोशीले भन्नुभयो ।
जिल्लाको निजी क्षेत्रको एक र साझा संगठनको रुपमा संघलाई बलियो बनाईराख्न आफुले उम्मेदवारी दिएको जोशीले बताउनुभयो । पछिल्लो पटक राज्यले गर्ने अनुगमन र नियमनको नाउँमा व्यवसायीहरु पीडित रहेको बताउँदै जोशीले आफू अध्यक्षमा निर्वाचित भएमा राज्यका निकाय र व्यवसायीहरुसंग मिलेर समाधान खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न विद्यमान चुनौैतीलाई चिरेर अघि बढ्नका लागि आफ्नो प्यानलमा युव, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्वलाई ध्यान दिएको जोशीले बताउनुभयो ।
जोशीको प्यानलमा वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ अमिरराज ताम्रकार, उपाध्यक्ष वाणिज्यतर्फ उसन बज्राचार्य, महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशी रहनुभएको छ ।
त्यसैगरी उद्योगतर्फबाट कार्यसमिति सदस्यहरुको लागि आपुलाल अवाले, कृष्ण श्रेष्ठ, गुणकेशरी ताम्रकार, राजु महर्जन, सजना श्रेष्ठ सुनील शाक्य ‘हान्ताई’ ले जोशीको प्यानलबाट उम्मेदवारी दिएका छन् ।
त्यसैगरी वाणिज्य तर्फ कार्यसमितिका सदस्यको लागि अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, विमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही, सागर महर्जन र संस्थागत क्षेत्रबाट पूर्णबहादुर महर्जनले उम्मेदवारी दिनुभएको छ ।
Categorized in बिजनेस