सम्पदा अभियन्ता भागवतलाई छायाँ सेन्टरका मजदुरबाट धमकी ?
SamacharDesk – बिराज | २०७७ पौष १९, आइतबार

हाल ठमेलस्थित छायाँ सेन्टर रहेको स्थानमा विगतमा ऐतिहासिक र धार्मिक महत्वको कमलपोखरी रहेको त्यहाँ ऐतिहासिक पुरातात्विक पोखरी नै कायम हुनुपर्ने भन्दै सम्पदा अभियन्ताहरु लागिरहेका छन् । छायाँ सेन्टर र कमलपोखरीको यो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
ठमेलको छायाँ सेन्टर विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहँदा अहिले आएर भने धम्कीको आरोप प्रत्यारोपमा अवस्थामा देखिएको छ । दुवै पक्षले एक अर्कालाई धमकी दिएको, मानसिक तनाव दिएको दावी गरिहरेका छन् ।
केही समय अघि मात्रै अदालतमा विचारधीन मुद्दामा दिनहुँ छायाँ सेन्टर परिसरमा विरोध प्रदर्शन गर्ने गरेको, पत्रकार सम्मेलन गर्दै टीप्पणी गरेको भन्दै छायाँ सेन्टर पक्षले सम्पदा अभियन्ता भागवत नरसिंह प्रधानमाथि रिट दायर गरेका थिए ।
छायाँ पक्षले भागवत नरसिंह प्रधानले रिपोर्टस क्लवमा र त्यसपछि फेरी छायाँ सेन्टरकै अगाडी पनि पत्रकार सम्मेलन गरेको आरोप लगाउँदै अदालतकै अवहेलना गरेको दावी गरेका छन् ।
यस सम्वन्धमा अभियन्ता प्रधानले भने आफुले कुनै पत्रकार सम्मेलनको आयोजना नगरेको भई यस विषयमा सम्पदामा चासो भएको अन्य समूहले विरोध प्रदर्शन र पत्रकार सम्मेलन गरेको प्रष्ट्याएका छन् ।
पछिल्लो दिनमा आएर भने मजदुरको नाममा छायाँ सेन्टरले आफुलाई ज्यानकै धमकी दिएको दावी गरेका छन् । मजदुर संगठनको नाममा आफुलाई ज्यानकै धमकी आएको अभियन्ता प्रधानको भनाई छ ।
मजदुर विरोधी क्रियाकलालप ३ दिन भित्र रोक्न भन्दै नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, केन्द्रीय कमिटीका अध्यक्ष सुर्य बहादुर कुवँर र युनिट्राभ केन्द्रीय कमिटीका अध्यक्ष सुमन पराजुलीका नामबाट प्रधानलाई पत्र नै दिइएको छ ।
यसको साथमा आफुलाई अन्य व्यक्तिले फोन समेत गरेर ज्यानको धमकी दिएको प्रधानले जानकारी दिएका छन् ।
यस सन्दर्भमा प्रधानले आफुलाई मानसिक तनाव दिएको र शान्तिपुर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइसकेका छन् । साथमा शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दर्ता गरिसकेका छन् ।
डरत्रास देखाई आफुलाई मुद्दाबाट पछि हट्नको लागि दवाब दिन खोजेको अभियन्ता प्रधानको दावी छ । यो विषयमा आफु कुनै डरत्रास वा दवाबका कारण पछि नहट्ने र अदालतबाट यसको न्याय हुनेमा आफु विश्वस्त रहेको प्रधानले बताए ।
Categorized in समाज