महान्यायाधिवक्ताबाट कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण
SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले काठमाडौं उपत्यकास्थित तीन वटा कारागार कार्यालयका प्रमुखहरूलाई पुस्तक हस्तान्तरण गर्नुभएको छ ।
आज महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रम बीच कैदीवन्दीलाई अध्ययन गर्नका लागि भन्दै महान्यायाधिवक्ता खरेलले रु १ लाख १७ हजार मुल्य बराबरको पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
कारागार कार्यालय, डिल्लीबजार, काठमाडौं, कारागार कार्यालय, नख्खु, ललितपुर र कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा रहेका कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्न पुस्तकालय प्रयोजनका लागि पुस्तक प्रदान गरिएको हो ।
सो अवसरमा महान्ययाधिवक्ता खरेलले कारागारमा रहेका कैदीवन्दीको मानव अधिकारको संरक्षण, कैदीवन्दीको मानवोचित व्यवहारको अवस्था र कारागारहरूको भौतिक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिने गरिएको बताउनुभयो ।
‘कारागारमा कैदीलाई कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने भएकाले कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्दा सकारात्मक प्रभाव पर्छ’ उहाँले भन्नुभयो ।
कारागारमा रहेका कैदीवन्दीलाई सुध्रिने वातावरण तयार गर्न राज्यका सबै निकायहरू मिलेर काम गर्नुपर्नेमा खरेलले जोड दिनुभयो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कैदीवन्दीहरूलाई अध्ययन गर्ने वातावरण सिर्जना भई उनीहरुमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने बताउनुभयो ।
Categorized in समाज