लघु चलचित्र प्रतियोगीतामा ‘साःगः’ प्रथम
SamacharDesk – बिराज | २०७७ माघ ४, आइतबार

चलचित्र निर्देशक प्रदिप खड्गीले आफ्नो फेसबुकको भित्तामा लेखे, ‘its hard, not to fail, but there is always chance to success' अर्थात असफल नहुन गार्हो छ, तर जितको सम्भावना जहिल्यै हुन्छ ।
उनको यो प्रेरणादायी शब्दसँगै उनको खुसी पनि झल्किन्थ्यो । खुसी नहुनु पनि किन, प्रथम पुरस्कार जित्नु नै खुसिको कुरा थियो, फेरी पहिलो पुरस्कारसँगै आफ्नै टिमबाट सान्त्वना पुरस्कारसमेत जितेको क्षण ।
प्रसङ्ग हो, कीर्तिपुर नगरपालिकाबाट आयोजित नेपालभाषाको लघु चलचित्र प्रतियोगीताको । कीर्तिपुर नगरपालिकाबाट आयोजित नेपालभाषाको लघु चलचित्र प्रतियोगीतामा सहभागी ७ वटा चलचित्रको प्रिमियरको साथमा विजेताको घोषणा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच भयो ।
प्रतियोगीतामा डेल्टा मल्टिमिडिया प्रोडक्सनको ब्यानरमा निर्मित, प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘साःगः’ ले प्रथम पुरस्कार जितेको छ । प्रथम पुरस्कार जितेको चलचित्रले प्रमाणपत्र, ट्रफिको साथमा एक लाख रुपैयाँ हात पारेको छ ।
It's Hard, Not to Fail, but, there is Always a Chance of Success. डेलटा मल्टिमिडिया प्राेडक्सन प्रा.लि. तथा सम्पुर्ण...
Posted by Pradeep Khadgi on Saturday, January 16, 2021
त्यस्तै दोश्रो पुरस्कार नेवाः युट्युबको ब्यानरमा निर्मित ‘आजुद्यः’ ले जितेको छ भने शशिकला मानन्धरको प्रस्तुति ‘लाखय् पाः’ तेश्रो हुन सफल भयो । दोश्रो भएको चलचित्रलाई ७५ हजार रुपैयाँ र तेश्रो चलचित्रले ५० हजार रुपैयाँ हात पारेको छ ।
फोकस पिक्चर्सको ब्यानरमा निर्मित भाईकाजी महर्जन ‘नयन’को निर्देशन रहेको ‘न्हय्का सिँ’ ले सान्त्वना पुरस्कार जितेको छ । सान्त्वना पुरस्कारवापत २५ हजार रुपैयाँ दिइएको थियो । सहभागी सबै चलचित्रलाई १०/१० हजार रुपैयाँ दिइएको थियो ।
नेपालभाषाका चलचित्र प्रतियोगीताहरुमा यो अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कीर्तिपुरको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चलचित्रको माध्यमबाट कीर्तिपुरको ईतिहास उजागर गर्नको साथै समाजमा मौखिक रुपमा जिवित रहेका किम्वदन्ति, लोक कथा जस्ता लोक सम्पत्तिहरुको अध्ययन अनुसन्धानको लागि प्रतियोगीताको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगीतामा कीर्तिपुरसँग सम्वन्धित किम्वदन्ति, ईतिहास र संस्कृतिमा आधारित भएर बनाइएका चलचित्र मात्र समावेश गराइएको थियो ।
कलाकार लक्ष्मीकुमार महर्जनको संयोजनमा प्रतियोगीता सम्पन्न भएको थियो ।
रामकृष्ण दुवालको संयोजनमा वरिष्ठ निर्देशक पवन जोशी, निर्देशक र कलाकार रामकृष्ण खड्गी, दृश्य सम्पादक साथै ग्राफिक्सकर्मी रजिन महर्जन र कलाकार पल्पसा डंगोल सम्मिलित निर्णायक मण्डलले विजेता चलचित्रको चयन गरेको थियो ।
Categorized in पेजथ्री