सम्पदा मैत्री महर्जन कम्प्लेक्स नयाँ वर्षमा खुल्दै
SamacharDesk – विजनेस व्यूरो | २०७५ पौष २९, आइतबार

देशकै पहिलो सम्पदा मैत्री भनी दावी गरिएको काठमाडौंको न्यूरोडमा निर्माणाधीन महर्जन कम्प्लेक्स नयाँ वर्ष २०७६ बाट खुल्ने भएको छ । राजधानी काठमाडौंको अति व्यस्त व्यावसायिक क्षेत्र न्यूरोडमा निर्माणाधीन उक्त कम्प्लेक्स नयाँ वर्षबाट शुरु हुने जनाइएको हो ।
महर्जन कम्प्लेक्स, महर्जन विजनेस एशोसिएट्स प्रा.लि. प्रवद्र्धक महर्जन दाजुभाईले बाँकि रहेका निर्माण कार्यहरु तीव्र रुपमा भइरहेको जनाउनुभयो । मापदण्ड विपरित बनिरहेको भन्दै कम्प्लेक्स विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले फैसला सुनाएसँगै कम्प्लेक्सको निर्माण कार्यले तीव्रता पाएको हो ।
‘हामीलाई झुठा आरोप लगाएरसर्वोच्चमा रिट दायर गरिदिँदा निर्माणमा केही ढिलाई हुनपुग्यो, अहिले सर्वोच्चबाट न्याय पाइसकेका छौं, अब चाँडै नै कम्प्लेक्सको शुरुवात हुनेछ’ महर्जन कम्प्लेक्स, महर्जन विजनेस एशोसिएत्सका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो ।
मापदण्ड विपरित अग्लो बनाउन लागेको र बेसमेन्ट राख्न नपाइने भन्दै यस कम्प्लेक्स विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । सो रिटमा सर्वोच्चले निवेदकको जिकीर नपुगेको भन्दै वेसमेन्ट पुर्नु नपर्ने फैसला सुनाइसकेको जानकारी कम्प्लेक्सका अध्यक्ष महर्जनले दिनुभयो ।
‘हामीले भवन निर्माणको स्वीकृति दिने निकाय कामपाबाट ४ तल्ला र बेसमेन्ट सहितको नक्सा पासको प्रक्रिया पूरा गरेकै छौं’ महर्जनले बताउनुभयो । ‘तर मापदण्ड विपरीतका संरचना भत्काउनुपर्छ, बेसमेन्ट पुर्नुपर्छ भन्दै एक समूहले दायर गरेको रिट सर्वोच्चले वेसमेन्ट पुर्नुनपर्ने फैसला गरिसकेको छ ।’
उचाईको सवालमा पनि पुराना बनेका घरहरुको उचाई ३५ फिट भन्दा बढी रहेका छन् भने पुनर्निर्माण गर्दा पहिलेकै उचाईमा निर्माण गर्न पाउने प्रावधान रहेको बताउँदै महर्जनले सो स्थानको साविक ‘क्रिष्टल होटेल’ को भवन २०२४ सालको नक्सा पासमा उचाई ५३’ ३’’ दावी गर्नुभयो । हालै काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड २०७५ भर्खरै बनी लागु भएको जनाउँदै नयाँ मापदण्डको दफा ९ (ख) मा प्रष्ट रुपमा सो क्षेत्र मा ७ तल्ला ६५ फिट बनाउन पाइने उल्लेख रहेको पनि महर्जन दाजुभाईको जिकीर रहेको छ ।
साथै, आफ्नो कम्प्लेक्स हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभन्दा बाहिर रहेकोमा संरक्षित क्षेत्रभित्र परेको भन्दै दुष्प्रचार गरिएको पनि महर्जनको भनाई थियो । सर्वोच्चको फैसलामा सो भवनसंरक्षित स्मारक क्षेत्रभन्दा बाहिर रहेको जनाएको छ । नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्सामा पनि सो भवन संरक्षित क्षेत्रभन्दा बाहिर देखिएको छ ।
युनेस्कोले पुरातत्व बिभाग (नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) को सहयोगमा तयार गरिएको रिभिजिटिङ काठमाण्डु नोभेम्वर २०१३ पुस्तकमा प्रकाशित नक्सामा समेत उक्त भवन संरक्षित क्षेत्रभन्दा बाहिर नै देखाएको छ ।
सर्वोच्चले साविकको निजी घरमा रहेको कुमारीको निराकार स्वरूपलाई भवन निर्माण सम्पन्न भइसकेपछि उपयुक्त स्थानमा प्रतिस्थापना गर्न आदेश दिएको छ । सो अनुसार आफुले कुमारीको उक्त कुमारीको निराकार मूर्ति प्रतिस्थापन गर्ने र सो मूर्ति कुनै सार्वजनिक मन्दिर नभई साबिकको निजी घरमा रहेको महर्जनले बताउनुभयो ।
‘वि. सं. २०१७ सालदेखि न्युरोडमा व्यवसाय गर्दै आइरहनु भएका र साविकको क्रिष्टल होटेल २०२४मा बनेको प्रत्यक्षदर्शी काजीलाल लगायत स्थानीयलाई समेत सो घरभित्र कुनै सार्वजनिक मुर्ति र मन्दिर अथवा कुनै सार्बजनिक पुजा भएको थाहा नभएको बताए । हामीलाई अनाहकमा दुःख दिने नियतले नै निजी घरभित्रको निराकार कुमारीको निराकार स्वरुपलाई सार्वजनिक मन्दिर भनेर दुष्प्रचार गर्दै मुद्दा हालियो’ महर्जनको भनाई थियो, ‘अब सर्वोच्चबाट फैसला भएसँगै हामी कम्प्लेक्सको शुरुवातको तयारीमा जुटेका छौं ।’
भवनका प्रवद्र्धकहरु महर्जन दाजुभाई उक्त भवन ९ रेक्टर थाम्ने भूकम्प प्रतिरोधक रहेको र सो भवन बाहिरी स्वरूप सम्पदा मैत्री हुने बताउँछन् । भवन भित्र अत्याधुनिक ESCALATOR, ELEVATOR, CAPSULE LIFT, SECURITY SYSTEM, FIRE FIGHTING को साथै बीचमा ४०५ खाली छोडेर ताजा हावाको समेत व्यवस्था हुने जनाएको छ ।
उक्त व्यापारिक भवनमा करिब ६० वटा पसल बनेर हजार जनाले रोजगारी पाउनुको साथै यहाँ हुने आर्थिक क्रियाकलापले देशकै समृद्धिमा नयाँ आयाम थपिने महर्जन दाजुभाईको विश्वास रहेको छ । ‘हामीले चाँडै नै बुकिंग खुल्ला गर्न लागेका छौं’ महर्जन दाजुभाईले बताए ।
Categorized in बिजनेस