arin enterprises

रंगको उत्सव होलि, हर्षोल्लासका साथ मनाईँदै

SamacharDesk – कल्चर ब्यूराे | २०७७ चैत्र १५, आइतबार

आज फागुन पुर्णिमा, तराई बाहेक उपत्यका र हिमाली, पहाडी क्षेत्रमा हर्षोलासका साथ होली पर्व मनाईँदैछ । परिवार तथा साथीभाई समूहमा भेला भएर एक आपसमा रंग डल्दै, लोला हानेर होलीको उल्लास बाँडिदैछ ।

यो पर्वलाई विशेष गरेर रंगको पर्वको रुपमा लिइन्छ । होलीको शुरुवातको विषय सत्ययुगमा दैत्यराज हिरण्यकश्यपुका छोरा विष्णुभक्त प्रल्हादसँग जोडिएको छ ।

आफ्नो छोरालाई जति सम्झाउँदा, जति तर्साउँदा पनि विष्णुभक्तिबाट छुटाउन नसक्दा हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने योजना बनाए । अनेक जुक्ति गर्दा पनि प्रल्हादलाई मार्न नसकेपछि आगोले नछुने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादलाई मार्ने जिम्मा लगाए । होलिकाले प्रल्हादलाई काखमा राखेर आगोमा बसे । तर आगोले प्रल्हादलाई केही हानी गरेन, बरु आगोले नछुने वरदान पाएकि होलिका जलेर खरानी भइन् ।

वरदानको दुरुपयोग गर्न खोज्दा होलिकाको यसरी अन्त भयो । यसप्रकार असत्यमाथि सत्यले विजय प्राप्त गरेपछि होलिका जलेको दिनमा उत्सव मनाउँदै सबैले एक आपसमा रंग डल्दै होलि खेले ।

तराईमा भने पुर्णिमाको भोलिपल्ट मात्रै होलि पर्व मनाइन्छ ।

काठमाडौंमा भने फाल्गुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा गद्दी वैठक अगाडी चीर ठड्याइएपछि होलिको विधिवत् शुरुवात भएको मानिन्छ । विभिन्न रंगका कपडाका टुक्राहरुसहित बनाइएको तीनतल्ले चीर ठड्याउने प्रक्रियालाई स्थानीय भाषामा ‘चीर स्वायेगु’ भनिन्छ ।

गएको फागुन ८ गते वसन्तपुरमा ठड्याएको चीरलाई आज साँझमा ढालेर टुँडिखेलमा लगी चीर दहन गर्ने गरिन्छ ।

यस वर्ष कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै सरकारले सामुहिक रुपमा होली खेल्न प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले घरघरमै बसेर पर्व मनाउन आग्रह गरेको छ ।

Categorized in संस्कृति