गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादनको मेयर शाक्यबाट उद्घाटन
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १९, आइतबार

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्टको शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टको महानगर प्रमुख शाक्यले शुभारम्भ गर्नुभएको हो ।
अक्सिजन प्लान्टबाट आजैबाट अक्सिजन उत्पादन सुरु भएको छ । ४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हने गर्दछ भने बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । अक्सिजन भर्ने प्रणाली भने जडान हुन बाँकी छ ।
प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट्यांक, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।
प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले गंगालालमा अक्सिजन प्लान्ट राख्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेलाको निर्णयले अहिलेको महामारी व्यवस्थापनमा लाभ हुने उल्लेख गर्नुभयो । सो समयमा महानगर प्रमुख शाक्यले अबको केही दिनमा कान्ति बाल अस्पतालमा पनि प्लान्ट शुरु गर्ने जानकारी दिनुभयो ।
‘सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ’ प्रमुख शाक्यले भन्नुभयो ।
गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन विरामी भएको ठाउँमा पुर्याइएको हुँदा सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको उल्लेख गर्नुभयो । अहिले अक्सिजनका सिलिण्डर स्टक राखिएको खवरप्रति टिप्पणी गर्दै शाक्यले चाहेको बेला उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिण्डर जोहो गरिरहनु नपर्ने बताउनुभयो ।
त्यस क्रममा गगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालले विरामीसँग अक्सिजन अथवा भेन्टिलेटरको पैसा नलिने बताउनुभयो । सो अवसरमा उहाँले एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नुपर्ने अवस्थामा गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल जानुनपर्ने उल्लखे गर्दै यसका लागि महानगरसँग सहयोगको अपेक्षा राख्नुभयो ।
महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खातामा पठाएको थियो ।
प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ ।
केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार, प्लान्टको ५ बर्षे वारेन्टी छ । गंगालालमा अक्सिजन प्लान्ट स्थापना गर्न महानगर र केन्द्रविच गत २०७६ माघ १५ गते सहिद सप्ताहको अवसरमा सहमति पत्रमा हस्ताक्षर भएको थियो । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट्याएकाे थियो ।
Categorized in समाज