arin enterprises

इजरायल र प्यालेस्टाइनको द्वन्द्व चर्कियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २९, बुधबार

इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक द्वन्द्व चर्किएको छ ।

द्वन्द्वमा जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

गत सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

रकेट र हवाई आक्रमणको क्रममा प्यालेष्टाइन तर्फ २८ र इजरायल तर्फ ३ जनाको मृत्यु हुँदा २ सय बढी घाइते भएका छन् ।

त्यस्तै इजरायली सेनाको आक्रमणबाट पछिल्लो समय गाजा पट्टीमा रहेको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय बढी हवाई आक्रमण गरिएको बताइएको छ ।

सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो ।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् ।

पछिल्लो समय जेरुसलममा रहेको अल अक्सा मस्जिदमाथि इजरायल र प्यालेष्टाइन दुवैले दाबी गरेपछि हिंसा चुलिएको हो । यो मस्जिद यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका थिए । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् ।

तर हमासले भने इजरायलले जबरजस्ती आक्रमण गरेको भन्दै प्रतिकार गर्ने जवाफ दिएको छ । साथै हमासले अल अक्सा र शेख जराह मस्जिदबाट इजरायली प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो भने उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मानेको छैन ।

प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिइरहेको छ ।

सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ जना प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये एक हजार ४६२ त सर्वसाधारण नै थिए ।

त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय