दोस्रो ललित अन्तर्राष्ट्रिय मेला आजबाट शुरु
SamacharDesk – विजनेस ब्यूरो | २०७५ चैत्र २७, बुधबार

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
ललितपुरको पुल्चोक, नःटोलमा दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै पुनले ठूल्ठूला उद्योग, कलकारखानाको स्थापना, जलविद्युत निर्माण, व्यवसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, पर्यटनको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई तीब्रता दिनुपर्नेमा पनि जोड दिनुभयो ।
मेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘सरकारको आफ्नो श्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसंगै जनतामा रहेका स–साना पुँजी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्दछ ।’
पुनले देशलाई समृद्धिको दिशातफै डोर्याउनका लागि अनियमितता र भ्रष्टाचार सबैभन्दा ठुलो समस्या भएको बताउनुभयो । विकास र समृद्धिको शत्रुको रुपमा रहेको भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट निरन्तर पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्न पनि उहाँले ध्यनाकर्षण गराउनुभयो ।
सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला राजधानीसंगै जोडिएको जिल्ला भएपनि आर्थिक विकास र पूर्वाधारको दृष्टिले पछाडि परेको बताउनुभयो । सरकारले हालै सम्पन्न लगानी सम्मेलनमा सोकेसमा प्रस्तुत गरेका ७७ वटा परियोजनामा ललितपुरको एउटा पनि परियोजना नपरेको गुनासो पोख्नुभयो ।
अध्यक्ष महर्जनले भन्नुभयो, ‘ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि पर्यटकीय पूर्वाधार, होटेल, केबुलकार, साहसिक पर्यटन, हस्तकला क्षेत्रमा लगानीका लागि थुप्रै परियोजनाहरु अघि सार्न सक्थ्यौं । ललितपुरको एउटा पनि परियोजना नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण छ ।’
संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले हस्तकला क्षेत्रमा संकटमा परिरहेको समयमा वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको उल्लेख गर्दै घोषणा अनुरुप ललितपुर महानगरपालिकाले ठोस काम गर्नुपर्नेमा महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य महासंघका उपाध्यक्षका किशोर प्रधान, ललितपुर क्षेत्र नं ३ का सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र संघका महासचिव मनोजबहादुर न्याछ्यं लगायतले समृद्ध नेपालको निर्माण गर्न उद्योगी, व्यवसायीहरुका् प्रमुख भूमिका रहनेमा जोड दिएका थिए ।
आजबाट शुरु भएको मेलामा नेपालको साथै भारत, पाकिस्तान, बंगलादेश, चीन लगायतका विभिन्न देशका करिब १ सय वटा स्टलहरु रहेका छन् ।
संघको ५२औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो ।
मेला पाँच दिनसम्म संचालन हुनेछ ।
Categorized in बिजनेस