arin enterprises

नेपाली प्रहरीबाट १६१ अक्सिजन सिलिण्डर संकलन

SamacharDesk – बिकाश | २०७८ जेठ ३, सोमबार

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानबाट एक सय ६१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको नेपाल प्रहरीले बताएको छ । संकलित सिलिण्डरमध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेको प्रहरीले जनाएको छ ।

यसअघिको स्टक रहेका ८६ वटासमेत गरी जम्मा २ सय ४७ वटा सिलिन्डरमध्ये सोमबार १ सय ४९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

बाँकी रहेका ९८ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण बताइएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ८ हजार ९ सय ९ सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर भए ती सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोधसमेत गरेको छ ।

Categorized in समाज