श्रेष्ठको निर्वाण कामना गर्दै मरणानुस्मृति पाठ
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख ७, शनिबार

वरिष्ठ पत्रकारको रुपमा परिचित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका सल्लाहकार एवं आजिवन सदस्य स्वर्गीय पुष्करलाल श्रेष्ठको निर्वाण कामना गर्दै बौद्ध परम्परा अनुसार शनिबार गुणानुस्मरण र श्रद्धाञ्जली अर्पण गरिएको छ ।
ललितपुर –१३ नख्खुस्थित केन्द्रमा आयोजित एक भेलामा नेपाल समाचारपत्रका प्रधान सम्पादक समेत रहेका श्रेष्ठको बौद्ध परम्परा अनुसार जरा (बुढ्यौली) ब्याधि, मृत्यूबाट अलग रहेको निर्वाण सुखको कामना गरिएको हो ।
केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले केन्द्रको स्थापनाकालदेखि स्वर्गीय श्रेष्ठले निर्वाह गर्नुभएको सक्रिय भूमिकालाई स्मरण गर्दै मरणानुस्मृतिको पाठ राखिएको जानकारी दिनुभयो । त्यसपछि भिक्षु धर्मसामीले मरणानुस्मृति पाठ गर्नुभयो ।
कुनै व्यक्तिको निधनपछि निर्वाण कामना गर्दै सो सुत्र पाठ गर्ने परम्परा नेपाल लगायत भारत, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत देशमा पनि रहेको छ । मृत्यूलाई जीवनको शाश्वत सत्यको रुपमा व्याख्या गर्दै मृत्यू हुनेप्रति पूण्य चढाउने र मृत्यूको बोध गराउने सो सुत्रको मुख्य भाव हुन् ।
यस अघि बैठकले केन्द्रलाई अघि बढाउन स्वर्गीय श्रेष्ठले पत्रकारिता र व्यक्तिगत रुपमा निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै शोक प्रस्ताव पारित गरिएको केन्द्रका सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । सो अवसरमा केन्द्रका उपाध्यक्ष रामकाजी अवाले, महासचिव सुनील महर्जन, कोषाध्यक्ष रामकृष्ण महर्जन, कार्यकारिणी सदस्य जयराम ताम्रकार, अनिल महर्जनसंगै, विहारका जग्गादाता दशलाल डंगोल, धम्महल एवं बुद्धमूर्ति दाता तीर्थ शाक्य र ध्यान अभ्यासमा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
दशलाल डंगोल र उहाँकी श्रीमती राममाया महर्जन तीन छोरा क्रमशः राम, रामकृष्ण र रत्न महर्जनको सहमतिमा केन्द्र निर्माणको लागि १ रोपनी १ आना जग्गा तीन वर्षअघि भिक्षुसंघलाई दान दिनुभएको थियो । स्वर्गीय श्रेष्ठले सो जग्गामा २०७३ चैत्र २ गते भएको केन्द्रको भवन शिलान्यास कार्यक्रम सफल गराउनदेखि केन्द्रको हरेक कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।
यसैबीच अखिल नेपाल भिक्षुमहासंघका महासचिव भिक्षु कौण्डन्यले आवाजविहीन आवाज बन्नुपर्ने पत्रकारिताको मुलभुत मान्यताको पालनामा सदवै निष्ठावान रहनुभएका स्वर्गीय श्रेष्ठको निधनले सबैको आवाजलाई पत्रकारितामा समेटिने दिशामा अपूरणीय क्षति भएको बताउनुभएको छ । स्वर्गीय श्रेष्ठको शोक पुस्तिकामा भिक्षु कौण्डन्यले भन्नुभयो ‘स्वर्गीय श्रेष्ठको सुगतिको कामना गर्दै निर्वाण कामना गर्दैछौं ।’
Categorized in समाज