arin enterprises

‘संसद्को इतिहासमै एउटा प्रेरणादायी व्यक्तित्व भिक्षु अश्वघोष ’

SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख ८, आइतबार

स्वर्गीय संघनायक भिक्षु अश्वघोष महास्थविरले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको भूमिका अहिलेसम्मकै संसद्को इतिहासमै एउटा प्रेरणादायी र उल्लेखनीय कार्यको रुपमा सदवै स्मरण रहिरहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

२०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाको सदस्यको रुपमा भिक्षु अश्वघोषले निर्वाह गर्नुभएको भूमिकालाई अखिल नेपाल भिक्षु महासंघले राजधानीमा आयोजना गरेको गुणानुस्मरण एवं श्रद्धाञ्जली सभाका सहभागीहरुले यसरी स्मरण गरे ।

भिक्षु अश्वघोषै त्यतिबेला राष्ट्रिय सभाका सदस्य रहनुभएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले भन्नुभयो ‘२०४७ सालको संविधानमा धर्मनिरपेक्ष उल्लेख गराउन उहाँको ठूलै जोड रहेको थियो । त्यतिबेलाको उहाँ प्रयासले २०६४ सालमा आएर अन्तरिम संविधानमा धर्मनिरपेक्ष लेखिएपछि बल्ल सार्थकता पाएको थियो ।’ भिक्षु अश्वघोषको स्मरण जोड्दै नेम्वाङले भन्नुभयो, ‘एक जना भिक्षुले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको यस किसिमको भूमिका अहिलेसम्मकै संसद्को इतिहासमा एउटा उदाहरण हुनसक्दछ ।’

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा लुम्बिनी विकास कोषको उपाध्यक्षको रुपमा भिक्षु अश्वघोषले निर्वाह गर्नुभएको सक्रियतालाई कोषका तत्लकालीन सदस्य सचिव विमलबहादुर शाक्यले सम्झिनुभयो, ‘समयको पालना, इमान्दार, कर्तव्यनिष्ठ भएर कोषको उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो । भिक्षु अश्वघोषको कार्यले लुम्बिनीले एउटा योग्य कार्यकारी पाएको अनुभव गरेका थिए ।’

सातौं संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविर, भिक्षुणी धम्मवती (गुरुमां), अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, अखिल नेपाल भिक्षुमहासंघका महासचिव एवं सभाका संयोजक भिक्षु कौण्डन्य लगायतले भिक्षु अश्वघोष दृढ निश्चियी, खुल्ला र स्पष्टवक्ता रहेको उल्लेख गर्दै  त्याग, साधारण जीवनशैली र विद्धतामा एउटा उदाहरणीय भिक्षु रहेको धारणा राख्नुभयो ।

सो अवसरमा प्रा. सुर्वण शाक्यले भिक्षु अश्वघोषले बुद्ध धर्मलाई व्यावहारिक, स्वतन्त्र चिन्तनले हेर्ने र बुझ्ने तरिकालाई सदैव जोड दिनुहुने प्रगतिशील व्यक्तित्व रहेको धारणा राख्नुभयो । नेपाल बौद्ध महिला संघका उपाध्यक्ष मिराज्योतिले बुद्ध धर्मको क्षेत्रमा महिलाहरुको समानता, महिलाको सशक्तिकरणको लागि परम्परागत सोचबाट बाहिर निस्किएर भिक्षु अश्वघोषले निर्वाह गर्नुभएको सक्रिय र विचारले लैङ्गिक समानताका लागि महत्वपूर्ण साबित भएको धारणा राख्नुभयो । 

यस अघि स्वर्गीय अश्वघोषको तस्वीरमा माल्यापर्ण गरी बज्राचार्य गुरुजु, लामा गुरु र भिक्षुहरुले निर्वाण कामना गर्दै पाठ गरेका थिए । २०७५ चैत्र २२ गते शुक्रबार ९३ वर्षको उमेरमा निधन हुनुभएका भिक्षु अश्वघोषको चैत्र २४ गते विशेष राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको थियो ।

Categorized in समाज