arin enterprises

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ २४, सोमबार

स्वयम्भुस्थित आनन्दकुटी आइसोलेसनलाई ताइवानको एक संस्थाले विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

चु जी फाउण्डेसन,  ताइवानले आनन्दकुटी बिद्यापीठस्थित आइसोलेसनलाई अटो क्लेभ मेसीन एक थान, पोर्टेबल एक्सरे मेसीन एक थान, ईसीजी मेसीन एक थान प्रदान गरेको हो ।

फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आईशोलेसन सेन्टरका संरक्षक सांसद जीवनराम श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा सांसद श्रेष्ठले होम आइसोलेसनमा बस्न असहज परिस्थिती हुनेहरुका लागि संक्रमणको पहिलो लहरमै आइसोलेसन संचालन गर्न खोजेको तर सो समयमा संक्रमण नियन्त्रणमा आएको स्थिती देखिएपछि अहिले दोश्रो लहरमा संचालन गरिएको जानकारी गराउनुभयो ।

यस आइसोलेसनबाट स्वास्थ्य लाभ गरी फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

फाउण्डेशनले यसअघि पनि सेन्टरलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर मेसीन र विभिन्न सामग्री प्रदान गरिसकेको छ ।

५० बेड क्षमताको आइसोलेसन सेन्टरमा हाल २३ जना उपचाररत छन् भने २५ जना कोभिड १९ जितेर डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौंको स्वयम्भुस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन भवनमा आइसोलेसन संचालन गरिएको हो ।

यहाँ मोडेल हस्पिटल नर्सिङ्ग कलेजको मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ । सेन्टरले एक्सरे, ईसीजी, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पिसिआर परिक्षणको ब्यवस्था, पौष्टिक खाजाखानालगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।

Categorized in समाज